१७ बैशाख २०८१, सोमबार

राधाको आँसुको प्रश्न– मेरो के गल्ती थियो ?



देउकलिया, कैलाली ।
उही गाउँ । साँझ पर्न थालेको छ । मान्छेको भीड थपिँदै गयो । भीडमा प्राय: चिरपरिचित अनुहारहरू, तर उनलाई आफ्नै गाउँ केही विरानो झैं लागिरहेको छ । मञ्चमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारीहरू तथा अन्य केही बसेका छन् । उनीहरूसँगै मञ्चमा रहेकी उनको अनुहारमा केही डरत्रासको भाव स्पष्ट देखिन्छ । उनी, अर्थात् १८ वर्षीया राधा चौधरीमा एक किसिमको उकुसमुकुसको भाव देखिन्छ ।
यो कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ को देउकलिया गाउँ हो । केही दिनदेखि राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि निकै चर्चित भएको छ । अन्धविश्वासले भरिएका गाउँलेहरूलाई साक्षी राखेर एकजना पाखण्डी भोलेबाबा भनिने रामबहादुर चौधरी, पार्वतीमाता भनिने किस्मति चौधरी लगायतका व्यक्तिहरूबाट निर्मम ढंगले कुटपिट तथा यातना भोगेकी राधा शुक्रबार साँझ आफ्नै गाउँमा आयोजित एक कार्यक्रममा भाग लिन पुगिन् । त्यस्तै, त्यही बोक्सी जस्तो कुसंस्कार विरुद्धको एक चलचित्र पनि प्रदर्शन हुँदै थियो ।
फागुन २४ गते विश्वभरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा कैलालीको घोडाघोडी नगरपालिकाको देउकलियामा ढाेंगीबाबा रामबहादुरको ताण्डव भइरहेको थियो । कक्षा ११ की छात्रा राधालाई छ, सात जनाले उनकै घरबाट घिसारेर ढोंगीबाबा रामबहादुरको घरमा पुर्‍याए । अनि, त्यहाँ छ घन्टासम्म सभ्य समाजलाई नै लज्जित पार्ने गरी रामबहादुरहरूको कुकृत्य प्रदर्शन भइरह्यो ।
शुक्रबार, देउकलियामा उनै अनुहारहरूमाझ राधाको सम्मान कार्यक्रम आयोजना गरिएको थियो । तर, राधाको अनुहार भावहीन थियो । उनलाई गरिएको सम्मानले पनि उनको अनुहारमा कुनै उत्साहभाव थिएन । उनै गाउँलेमाझ केही झुकेका उनका निर्दोष आँखाहरू मानौ एउटै सवाल गरिरहेका थिए– मैले त्यस्तो के गल्ती गरेकी थिए, कि मैले छ घन्टासम्म निर्मम कुटपिट, यातना र दुव्र्यवहार भोग्नु पर्‍यो । तर, तपाईंहरू कसैले पनि न मलाई जोगाउन चाहनु भयो, न त्यो अपराध रोक्न कुनै पहल गर्नु भयो ?
घटनाको दोस्रो दिन उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्‍याइएकी राधालाई दुई दिनपछि महिला पुनस्र्थापना केन्द्रको सेफ हाउसमा राखिएको थियो ।
उनको सम्मानमा शुक्रबार देउकलियामा कार्यक्रम आयोजना गरिएको थियो । त्यस्तै, बोक्सी प्रथा विरुद्ध जनचेतनामूलक ‘अग्नीदहन’ नामक चलचित्र प्रदर्शन गरिएको थियो ।
‘मान्छे बोक्सी हुन्न कहिल्यै, राष्ट्रिय जागरण प्रतिष्ठान, नेपाल’ ले बोक्सी प्रथा विरुद्धको अग्नीदहन चलचित्र प्रदर्शन गरेको थियो ।
सम्मान कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक विनोद घिमिरे, संस्थाका पदाधिकारी, अधिकारकर्मीहरूसँगै राधा उपस्थित थिइन् ।
राधालाई कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाल, प्रहरी उपरीक्षक घिमिरे र बोक्सी प्रथा विरुद्ध जनचेतना अभियानका संयोजक कोविदशरणले संयुक्त रूपमा अभिनन्दन गरेका थिए ।
कार्यक्रममा राधालाई केही बोल्न अनुरोध गरियो । केही डराएको भावमा माईक समातेर सबैलाई नमस्ते गर्दै उनले आफ्नो नाम मात्र उच्चारण गर्न सकिन् । उनको गला अवरुद्ध भयो । उनका आँखाबाट अविरल आँसु झरिरहे । कार्यक्रममा सहभागी सर्वसाधारण, सञ्चारकर्मी सबैका आँखा रसाए । राधालाई पुन: केही बोल्न अनुरोध गरियो । उनले प्रयास त गरिन्, तर उनको गलाबाट आवाज निस्कन सकेन । उनी रोई मात्र रहिन् ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले कुरीति तथा कुसंस्कार रोक्न समाजका सबै पक्षको अहम् भूमिका रहेको चर्चा गरे ।
प्रजिअ रिजालले धर्म, संस्कृति तथा परम्पराको नाममा विशेष गरेर महिलाहरूमाथि भइरहेको हिंसा कम गर्न अझ बढी प्रयास गरिनुपर्ने बताए ।
उनले बोक्सीको आरोपमा राधामाथि निर्घात कुटपिट भइरहँदा रोक्नुको सट्टा टुलुटुलु हेरेर बस्ने र ताली पिट्ने, भोलेबाबा र पार्वतीमाताको नाममा ठगी गर्नेलाई समर्थन गर्ने पनि दोषि रहेको बताए । उनले दोषिलाई सहयोग गर्ने मतियारहरूलाई कानुनी कठघरामा उभ्याउने बताए ।
बोक्सी आरोपमा राधालाई निर्घाट कुटपिट गरेको आरोपमा मुख्य अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई सहयोग गर्ने किस्मती चौधरी, स्मारिका चौधरी, वदेप्रकाश चौधरी, चनकला चौधरी र सीतारानी चौधरीलाई पक्राउ गरी प्रहरीले मुद्दा दायर गरिसकेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार