७ जेष्ठ २०८१, सोमबार

रुस्लान डीपीएललाई आइसीसीबाट मान्यता



धनगढी । धनगढीमा आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मान्यता दिएको छ ।
धनगढी क्रिकेट एकेडेमी (डिसिए) को आयोजनामा आगामी १७ गतेदेखि धनगढीमा डीपीएल–२ प्रतियोगिता सञ्चालन हुँदैछ ।
डिसिएका अध्यक्ष सुवास शाहीद्वारा बुधबार प्रेषित जानकारी पत्रमा क्रिकेटको सर्वोच्च संस्था मानिने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) बाट डीपीएल–२ ले मान्यता पाएको उल्लेख छ ।
आइसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर क्लिभ हिचककद्वारा डिसिएलाई प्रेषितपत्रमा आइसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरूलाई रुस्लान डीपीएल–२ लाई आइसीसीको मान्यता रहेको जानकारी गराइसकेको उल्लेख गरिएको छ ।
‘आइसीसीको मान्यता पाएसँगै डीपीएलमा सहभागी टोलीले कुनै पनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको छ’ धनगढी क्रिकेट एकेडेमीद्वारा प्रेषित जानकारीपत्रमा भनिएको छ– ‘रुस्लान डीपीएल–२ लाई आइसीसीले मान्यता दिँदै आफ्ना सम्पूर्ण सदस्यहरूलाई जानकारी गराउनुले नेपाली घरेलु क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा थप महत्व र उचाई हासिल गरेको हामीले महसुस गरेका छौं ।’
नेपालमा सर्वाधित चर्चितमध्ये अग्रस्थानमा रहेको रुस्लान डीपीएल–२ प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले भाग लिने छन् ।
सर्वाधिक पुरस्कार राशीको डीपीएल–२ को उपाधी विजेताले २५ लाख र उपविजेता टिमले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले तीन लाख र चौथो स्थान प्राप्त गर्ने टिमले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सहभागी हुने टिमका खेलाडी अक्सनबाट छनोट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार