११ श्रावण २०८१, शुक्रबार

नगरप्रमुख चौधरी खतरामुक्त, उपचारका लागि नेपालगंज लगियो




धनगढी । 
कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीलाई सोमबार राति गोली तथा खुकुरी प्रहार भएको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडबजारस्थित आफ्नै घरमै बसिरहेको बेला राति ८:१० बजेतिर दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले नगरप्रमुख चौधरीमाथि गोली तथा खुकुरी प्रहार गरेको बताइएको छ ।
आक्रमणकारीले पहिले नगरप्रमुख चौधरीको टाउकोमा खुकुरी प्रहार गरेका थिए । घाइते नगर प्रमुख चौधरीले आक्रमणकारीले खुकुरी प्रहारपछि गोली प्रहार गरेको बताए ।
उनको कम्मरमुनी दायातर्फ गोली लागेको छ । आक्रमणकारीलाई आफूले चिन्न नसकेको नगरप्रमुख चौधरीले बताए ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विनोद घिमिरेले नगर प्रमुख चौधरीमाथि आक्रमणको पुष्टी गरेका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीमाथि गोली प्रहार भएको र घटनास्थलबाट से१प ३६७१ नम्बरको एउटा मोटरसाइकल भेटिएको बताए ।
गत बिहीबार घोडाघोडी नगरपालिका वडा नम्बर ५ मा राधा चौधरीलाई वोक्सीको आरोपमा कुटपिट भएको घटनामा मेयर चौधरीको दवावमा पीडकहरू छुटेको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले उनलाई भौतिक कारवाही गर्ने चेतावनी दिएको थियो ।
प्रहरीले सो आक्रणण घटना विप्लव समूहबाट नै भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । विप्लव समूहका तर्फबाट जिल्ला सेक्रेटरी रामबहादुर चौधरी (महान) ले नगर प्रमुख चौधरीलाई कारवाही गरिने चेतावनी सहित विज्ञप्ति जारी गरेको बताइएको छ ।
यसैबीच, नेकपा (एमाले) ले आक्रमण घटनाको बिरोध गरेको छ । एमालेका अध्यक्ष तथा सात नम्बर प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले घटनाको अनुसन्धान गरेर दोषिमाथि कारवाही गर्न सुरक्षा निकायलाई निर्देशन गरिसकेको बताए ।
नगर प्रमुख चौधरीलाई उपचारका लागि सोमबार राति नेपालगञ्ज पुर्‍याएको छ । उनलाई मंगलबार बिहान थप उपचारका लागि काठमाडौं लगिने मन्त्री सोडारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार