२० बैशाख २०८१, बिहीबार

बोक्सीको आरोपमा बर्बर यातना घटना : ‘पार्वतीमाता’ पक्राउ, अन्यको खोजी, अदालतमा मुद्दा दायर



धनगढी । बोक्सीको आरोपमा पाशविक ढंगले यातना दिने ‘भोलेबाबा’ कि सहयोगी ‘पार्वतिमाता’ लाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५, देउकलियाकी १८ वर्षीया राधा चौधरीलाई बोक्सीको आरोपमा छ घन्टासम्म बर्बर ढंगले कुटपिट गर्ने मध्येकी एक आफूलाई पार्वतिमाता भन्ने २० वर्षीया किस्मती चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बोक्सीको आरोपमा कुटिएकी राधा चौधरीलाई अस्पतालमा भेटेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री त्रिलोचन भट्ट साथमा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डिएसपी सागर बोहराले अभियुक्त किस्मतिलाई घोडाघोडी नगरपालिकाको सुखडबाट आइतबार पक्राउ गरिएको बताए ।
बोक्सीको आरोपमा राधालाई चारैतिर गाउँले राखेर बर्बर ढंगले कुटपिट, दुव्र्यवहार तथा यातना दिने मुख्य अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरीलाई प्रहरीले शुक्रबार नै पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बोहराले सो घटनामा भोलेबाबालाई साथ दिने अरू व्यक्तिहरूको पनि खोजी भइरहेको जानकारी दिए ।
कक्षा ११ का विद्यार्थी राधालाई बिहीबार उनको घरबाट छ/सात जनाले जबरजस्ती घिसारेर भोलेबाबाको घरमा पुर्‍याएका थिए । राधामाथि बोक्सीको आरोप लगाइएको थियो । भोलेको घरआँगनमा ठूलो संख्यामा स्थानीयलाई दर्शक बनाएर भोलेबाबा र पार्वतिमाताले छ घन्टासम्म राधामाथि कुटपिट तथा यातना दिएका थिए ।
किस्मिताले भोलेबाबा भनिने (भोले भनेर चिनिने) रामबहादुर चौधरीसँग मिलेर राधालाई कुटपिट गरेकी थिइन् । रामबहादुर शुक्रबार नै पक्राउ परिसकेका थिए । उनीहरुलाई साथ दिने अरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

किस्तमी चौधरी ‘पार्वतीमाता’

किस्मति आफूलाई भोलेबाबाकी सहायिका भएको बताउँछिन् । भोलेबाबाको घरआँगनमा शुरुमा किस्मतिले नै राधामाथि तथानाम गाली गर्दै कुटपिट गरेकी थिइन् । उनले आफूले भोलेबाबासँग आठ दिनका लागि विहे गरेको बताउने गरेकी छन् ।
अभियुक्त किस्मतीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा राखेको प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
राधाको अहिले धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
पीडकविरुद्ध बोक्सी अपराध दण्ड सजाय ऐन अन्तर्गत कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता गरी म्याद थप गरिएको डिएसपी बोहराले बताए । सो ऐनअनुसार कसुरको मात्रा हेरी दुई वर्षदेखि ८ वर्षसम्म जेल सजाय र एक लाख रुपैयाँसम्म जरिवानाको प्रावधान रहेको छ ।
‘प्रहरीले जाहेरी उल्लेखित सबै अभियुक्तलाई पक्राउ गरिसकेको छ’ डिएसपी बोहराले भने– ‘हामीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएका छौं । अन्यका नाम खुलेमा व्यक्तिहरूलाई पक्राउ गरी कारबाही अघि बढाउँछौं ।
यसैबीभ, ईलाका प्रहरी कार्यालय, सुखडका प्रहरी नायव निरीक्षक दिनेशबहादुर बिष्टलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बोहराले प्रनानि बिष्टलाई प्रहरी ऐननियमअनुसार निलम्बन गरिएको बताए ।
प्रनानि बिष्टमाथि सो घटनामा पीडित पक्षको उजुरी दर्ता नगरी अभियुक्तहरूको पक्षमा काम गरेको आरोप लागेको छ । त्यस्तै, घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले घटनालाई सामान्य बनाएर मिलाउन प्रहरीलाई दवाव दिएको आरोप लागेको छ ।
इलाका प्रहरी कार्यालयमा वडा अध्यक्ष प्रेम रोकायाको रोहबरमा ‘पीडकले पीडितलाई उपचार खर्चवापत ४५ हजार रुपैयाँ उपलब्ध गराउने’ भनेर मिलापत्र गरिएको बताइएको छ ।
पीडित पक्षले इलाकाका प्रहरी कार्यालयमै पीडितसँग रहेका प्रमाणहरू पनि खोसेर नष्ट गर्ने काम भएको आरोप लगाएका छन् । कैलाली जिल्ला प्रहरी कार्यालयले पनि ईलाका प्रहरी कार्यालय सुखडले घटनाबारे समयमै जानकारी नगराएको बताएको छ ।
घटनाबारे विभिन्न सञ्चारमाध्यममा व्यापक समाचार सार्वजनिक हुनुका साथै राष्ट्रिय मानवअधिकार आयोग तथा अन्य संघसंस्थाले व्यापक चासो लिएपछि शुक्रबार प्रहरीले अभियुक्त रामबहादुरलाई पक्राउ गरेको थियो । सुखडमा उपचार गराइरहेकी राधालाई पनि शुक्रबार नै सेती अञ्चल अस्पताल ल्याइएको थियो ।
कुटपिटबाट घाइते राधालाई आइतबार साँझ ओरेक नेपालमा पठाइएको छ ।

राधाको उपचारको जिम्मेवारी सरकारले बहन गर्ने
बोक्सीको आरोपमा निर्घात कुटपिटमा परेकी राधाको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले बहन गर्ने भएको छ ।
सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार नै पीडित राधाको उपचारको सबै खर्च सरकारले बेहोर्ने बताएका थिए ।
आइतबार पीडित राधाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सेती अञ्चल अस्पताल पुगेका सामाजिक विकास मन्त्री र वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्टले पनि उनको उपचारको सबै जिम्मेवारी सरकारले लिने बताएका छन् ।

विभिन्न संघसंस्थाद्वारा घटनाको भत्र्सना
विभिन्न संघसंस्थाले बोक्सीको आरोपमा युवतिमाथि भएको निर्घात कुटपिट तथा यातनाको घोर भत्र्सना गर्दै अभियुक्तहरूलाई कडा कानुनी कारवाहीको माग गरेका छन् ।
विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन तथा संघसंस्थाले घटनाको विरोधमा प्रदर्शन गरेका छन् ।
कैलालीमा क्रियाशील १४ वटा संस्थाले आइतबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै ‘समाजमा अन्धविश्वास र कानुनी रूपमा दण्डनीय रहेको बोक्सीको आरोप जस्तो जघन्य अपराधको घटनाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश गएको’ बताएका छन् ।
संघसंस्थाहरूले घटनामा संलग्न दोषिहरूलाई हदैसम्मको कानुनी कारबाहीको गर्न तथा भविष्यमा यस्ता घटना हुन नदिन समाजमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्न सम्बन्धित पक्षसंग माग गरेका छन् ।
महिला मानवअधिकार रक्षक सञ्जाल, दलित महिला अधिकार मञ्च, नारी उत्थान केन्द्र, कमैया प्रथा उन्मुलन समाज, ओरेक नेपाल, थर्ड एलायन्स, राष्ट्रिय दलित नेटर्वक, ग्राम विकास तथा अनुसन्धान केन्द्र, मर्सिकोर नेपाल, याक नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, एडजस नेपाल, डब्लुडब्लु जे र अन्तरपार्टी महिला सञ्जाल कैलालीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पीडितलाई उचित न्याय, क्षतिपूर्ति र पुन:स्थापना गराउन सरकारसँग माग गरिएको छ ।
त्यस्तै, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा नेपाल लगायतका राजनीतिक दलले घटनाको छानबिन गरी दोषिमाथि कडा कानुनी कारवाहीको माग गरेका छन् ।
मुक्त कमैया विकास मञ्चले घटनाका विषयमा ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आइतबार नै ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा घटनाका आरोपी रामबहादुर, किस्मति, कृष्णा चौधरी लगायतका व्यक्तिलाई ऐनअनुसार हदैसम्मको कारवाही, दवाव दिएर मेलमिलाप गराउने स्थानीय तहका जनप्रतिनिधि र ईलाका प्रहरी कार्यालयका इञ्चार्जको भूमिकाबारे अनुसन्धान गरी दोषि देखिएमा कारवाही गर्नुपर्ने र पाशविक घटना गर्न उक्साउने, भेला भएर रमिता हेर्ने रमितेहरूलाई पनि कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।
घटनाको विरोधमा नेपाल विद्यार्थी संघ गोदावरीले आइतबार धनगढी–अत्तरिया सडकमा एक घण्टा चक्काजाम गरेको छ । नेविसंघले पीडितलाई उचित न्याय, क्षतिपूर्ति तथा उच्च तहसम्म नि:शुल्क शिक्षाको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।
त्यस्तै, नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले घोडाघोडी नगरपालिकाको सुखडमा विरोध प्रर्दशन गरेका छन् ।
विद्यार्थी संगठनहरूले दोषिमाथि कारवाही तथा पीडितलाई न्याय, क्षतिपूर्ति तथा नि:शुल्क उच्च शिक्षाको व्यवस्था गर्न माग गरेका छन् ।
उता, राष्ट्रिय मानवअधिकार आयोगले आइतबार घटनास्थलको स्थलगत निरीक्षण गरेको छ ।
आयोगको क्षेत्रीय निर्देशक दीपकध्वजजंग कार्कीसहितको टोलीले सुखड ईलाका प्रहरी कार्यालय, घोडाघोडी नगरपालिकाका पदाधिकारी, स्थानीय लगायतसँग भेटघाट तथा छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार