२० बैशाख २०८१, बिहीबार

बोक्सीको आरोपमा बर्बर यातना घटना ‘पार्वतीमाता’ पनि खोरमा



धनगढी । बोक्सीको आरोपमा पाशविक ढंगले यातना दिने ‘भोलेबाबा’ कि सहयोगी ‘पार्वतिमाता’ पनि अन्नतः खोरमा पुगेकी छिन् ।
बिहीबार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा छ घन्टासम्म बर्बर ढंगले कुटपिट गर्ने मध्येकी एक आफूलाई पार्वतिमाता भन्ने किस्मती चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डिएसपी सागर बोहराले अभियुक्त किस्मतिलाई घोडाघोडी नगरपालिकाको सुख्खडबाट आइतबार पक्राउ गरिएको बताए ।
बोक्सीको आरोपमा १८ वर्षीया राधा चौधरीलाई चारैतिर गाउले राखेर कुटपिट गर्ने मुख्य अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरीलाई प्रहरीले शुक्रबार नै पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बोहराले सो घटनामा भोलेबाबालाई साथ दिने अरु व्यक्तिहरूको पनि खोजी भइरहेको जानकारी दिए ।
कक्षा ११ का विद्यार्थी राधालाई बिहीबार उनको घरबाट छ/सात जनाले जबरजस्ती घिसारेर भोलेबाबाको घरमा पुयाएका थिए । राधामाथि बोक्सीको आरोप लगाइएको थियो । भोलेको घरआगनमा ठूलो संख्यामा स्थानीयलाई दर्शक बनाएर भोलेबाबा र पार्वतिमाताले छ घन्टासम्म राधामाथि कुटपिट तथा यातना दिएका थिए ।
प्रहरीले अभियुक्तहरूमाथि बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन अनुसार जिल्ला अदालतमा मुद्दा दर्ता गरि म्याद थप गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार