मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त
धनगढी । सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभा (संसद) बाट विश्वास मत प्राप्त गरेका छन् ।
मंगलबार प्रदेश संसदमा मतदान प्रक्रियाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरे । उनको पक्षमा ३८ मत खसेको थियो । भने विपक्षमा १० मत परेको थियो ।
सभाको अध्यक्षतामा गरिरहेका सभामुख अर्जुबहादुर थापाले मतदानको परिणाम घोषणा गर्दै मुख्यमन्त्री भट्टले आवश्यक विश्वासको मत पाएको बताए । ५३ सदस्यीय प्रदेश संसदमा विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक थियो ।
नेकपा एमाले तथा माओवादी केन्द्र सहितको बाम गठबन्धनबाट मुख्यमन्त्री बनेका भट्टलाई एमालेका २४ र माओवादीका १४ जना सांंसदले मत दिएका थिए ।
नेपाली कांग्रसेका आठ र राष्ट्रिय जनता पार्टी (राजपा) का दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए । मंगलबारको प्रदेश संसद बैठकमा कांग्रेसका चार जना सांसद डिल्लीराज पन्त, कर्णबहादुर मल्ल, गोविन्दराज बोहरा र नन्दा कुमारी बम उपस्थित थिएनन् ।
मतदान अघि संसदमा धारणा व्यक्त गर्दै मुख्यमन्त्री भट्टले आवश्यक नीति तथा ऐन कानून निर्माण गर्दै प्रदेश सरकारले जनताको भावना र चाहना अनुसार काम गर्ने प्रतिवद्धता दोहोर्याए ।
मुख्यमन्त्री भट्टले संसद समक्ष प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा माओवादी केन्द्रका सांसद वीरमान चौधरी र एमाले सांसद तारा लामा तामाङले समर्थन गरेका थिए ।
संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ । भट्ट मुख्यमन्त्री नियुक्त भएको चैत ५ गते ३० दिन पुग्दै छ ।
विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री भट्टले आफूले अझै द्रुत गतिमा काम गर्ने बताए । उनले प्रदेश सरकारले छिट्टै पुरक बजेट ल्याउने पनि जानकारी दिए ।
विश्वासको मत सम्बन्धी छलफलमा भाग लिएका सांसदहरूले प्रदेशको राजधानी, सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा पनि धारणा व्यक्त गरेका थिए ।
छलफलमा भाग लिँदै डोटीबाट प्रतिनिधित्व गर्ने एमाले सांसद पूर्णा जोशीले डोटीको दियायलमा राजधानीका लागि भइरहेको आन्दोलनलाई वार्ताद्वारा टुंगोमा पुर्याउन आग्रह गरिन् ।
सांसद जोशीले डोटी जिल्ला अस्पतालमा लामो समयदेखिको चिकित्सक र स्थानीयबीचको विवादका कारण स्वास्थ्य सेवा प्रभावित भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गरिन् ।
कैलालीका नेपाली कांग्रेसका सांसद रणबहादुर रावलले सात नम्बर प्रदेशको धार्मिक, सांस्कृतिक, पर्यटन, कृषि, सडक, सिंचाईं लगायतका क्षेत्रमा गर्नुपर्ने कामबारे सरकारले ध्यान दिन आग्रह गरे ।
सांसद रावलले नेपाली कांग्रेसले संसदमा जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
माओवादी केन्द्रका सांसद अक्कलबहादुर रावलले गाउँगाउँमा सिंहदरवार पुगेको भनिए पनि अझैं जनताले अनुभूति गर्न नसकेको चर्चा गरे ।
राजपाका सांसद मालामति रानाले प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई विजेताको प्रमाणपत्र दिएर सपथ ग्रहण गर्ने वातावरण मिलाउनु पर्ने माग गरिन् ।
सांसद राना बोलिरहँदा बैतडीका एमाले सांसद लिलाधर भट्टले नियमापत्ति गरेका थिए । उनले सांसद रेशमलालको मुद्दा अदालतमा विचाराधीन रहेकाले बहसको विषय बन्न नसक्ने भन्दै नियमापत्ति गरेका थिए ।
उनले सांसद रानाले प्रतिनिधि सभा सदस्य नवराज सिलवालका नाममा देशभरी कही पनि मुद्दा दायर नभएको जिकिर गर्दै चरित्र हत्या नगर्न आग्रह गरे ।
प्रदेश संंसदको अर्को बैठक फागुन २६ गते शनिबार बस्ने संसद सचिवालयले जनाएको छ ।