२ माघ २०८१, बुधबार

मुख्यमन्त्रीले विश्वासको मत पाए



धनगढी । सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज बसेको प्रदेश सभा संसदबाट विश्वासको मत लिएका छन् ।
संसदमा भएको मतदान प्रक्रियाबाट मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन् । सभामुख अर्जुनबहादुर थापाले संसदमा घोषणा गरेअनुसार मुख्यमन्त्री भट्टको पक्षमा ३८ विपक्षमा १० मत खसेको थियो । सभामुख थापाले मुख्यमन्त्री भट्टले विश्वासको मत पाएको घोषणा पनि गरे । ५३ जनाको संसदमा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री भट्टलाई २७ मत चाहिएको थियो ।

संसदको विश्वासको मत माग्न प्रस्ताव गर्दे मुख्यमन्त्री भट्ट

बामगठबन्धनबाट मुख्यमन्त्री भएका माओवादी केन्द्रका नेता भट्टलाई एमालेका २४ र माओवादीका १४ जना सांंसदले विश्वासको मत दिएका हुन् । नेपाली काँग्रेका आठ र राष्ट्रिय जनता पार्टी (राजपा) का दुई जना सांसदले विपक्षमा मतदान गरे । आजको संसदमा काँग्रेसका चार जना डिल्लीराज पन्त, कर्ण मल्ल, गोविन्दराज बोहरा र नन्दा बम अनुपस्थित थिए ।
मतदान अघि बोल्दै मुख्यमन्त्री भट्टले विभिन्न कानुन बनाएर सात नम्बर प्रदेशलाई समृद्ध बनाउने र जनताको भावनाअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै विश्वासको मत माग्ने प्रस्ताव संसदमा राखेका थिए । उनको प्रस्तावलाई माओवादी सांसद वीरमान चौधरी र एमाले सांसद तारा लामातामाङले समर्थन गरे ।

मुख्यमन्त्री भट्टलाई एमाले सांसदहरूको समर्थन रहेको जानकारी गराउँदै सांसद तारा लामा तामाङ

मुख्यमन्त्री बनेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् । भट्ट मुख्यमन्त्री भएको चैत ५ गते ३० दिन पुग्दै छ । यो विचमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भएकोले ३० दिन पुग्न १३ दिन बाँकी रहँदै विश्वासको मत लिएको बताइएको छ ।
विश्वासको मत प्राप्त गरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले आफूले अझै तीब्रताका साथ काम गर्ने बताउँदै चाँडै खर्च गर्ने गरेर पेश्की बजेट ल्याउने बताए ।

संसद शुरु हुनु अघि हाजिरी लगाउँदै सांसदहरू ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार