११ श्रावण २०८१, शुक्रबार

प्रदेशमा सुदृढ शान्ति सुरक्षा कायम गरिने छ– आन्तरिक मामिला मन्त्री



धनगढी । ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेशमा सुदृढ शान्ति सुरक्षा कायम गरिने बताएका छन् । मन्त्री शाहले ‘सुदृढ शान्ति सुरक्षा : प्रदेश समृद्धिको आधार’ अभियानका साथ शान्ति सुव्यवस्था मजबुत बनाइने बताए ।
सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेशमा जनतालाई बलियो शान्ति सुव्यवस्थाको अनुभूत गराउन १८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरे ।
प्रतिवद्धतापत्र मार्फत आन्तरिक मामिला मन्त्री शाहले मन्त्रालयको भौतिक व्यवस्थापनमा सुदृढिकरणलगायत आधुनिक सूचना प्रविधियुक्त स्वचालित कार्य प्रणाली लागू गरिने बताए ।
उनले मन्त्रालयको वेवसाइटमार्फत सूचना प्रवाहको व्यवस्था गरिने, मन्त्रालयका कामकारबाही तथा सेवाबारे जानकारी दिन प्रवक्ता तथा सूचना अधिकारीको व्यवस्था गरिने बताए ।
‘गृहमन्त्रीसँग जनताको गुनासो सम्बन्धमा सिधा सम्पर्कको व्यवस्था गरी जनमन शान्ति अभियानको थालनी गरिने छ’ प्रतिवद्धतापत्रमा प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेका कानुन निर्माणको लागि कानुन तर्जुमा मस्यौदा समिति गठन, प्रदेश आन्तरिक सुरक्षा नीतिको अवधारणापत्र तयार गर्न कार्यदल गठन, तथा प्रदेश शान्ति सुरक्षाका सन्दर्भमा पाश्र्वचित्र तयार गरिने उल्लखे छ ।
त्यस्तै, प्रदेश निजामति सेवा सम्बन्धी ऐन नियम तर्जुमा गर्न कार्यदल गठन, चुस्त ट्राफिक व्यवस्था, सुरक्षाका दृष्टिले अति संवेदनशील क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरी महत्त्वपूर्ण सार्वजनिक स्थलको विद्युतीय अनुगमन गरिने मन्त्री शाहले बताए ।
विपद व्यवस्थापन सम्बन्धी प्रादेशिक रणनीति तयार गर्न कार्यदल गठन गरिने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ ।
त्यस्तै, सार्वजनिक सम्पत्तिको संरक्षण तथा अद्यावधिक अभिलेखको व्यवस्था, अपराधिक क्रियाकलापको नियन्त्रण गरी सामाजिक सद्भाव तथा सुरक्षामा खलल् पुर्‍याउने कार्यलाई निरुत्साहित गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
त्यस्तै, ७ नम्बर प्रदेशसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा यात्रुहरूको सुरक्षाका लागि निगरानी सहायता कक्षको व्यवस्था गरिने छ ।
‘भ्रष्टाचारमा सून्य सहनशीलता नीति अवलम्बन गरी ढिलासुस्ती र अनियमितालाई निरुत्साहित गर्दै सुशासनको प्रत्याभूति दिन सुशासन कार्ययोजना २०७४ तर्जुमा गरी कार्यान्वयन गरिने छ’ पत्रकार सम्मेलनमा मन्त्री शाहले भने– ‘यी सबै कार्य कार्यान्वयनका लागि एक महिनाभित्र आवश्यक कार्यदल गठन गरिने छ ।’

 

सामाजिक सद्भावमा खलल हुन नदिन कैदी स्थानान्तरण गर्न सकिने– मन्त्री शाह
यसैबीच आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले सामाजिक सद्भावमा खलल् हुन नदिन कैलाली कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्न सकिने बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले कैलालीको टीकापुर घटनाका आरोपी सांसद रेशमलाल चौधरीसहित २४ जना बन्दीले शुरु गरेको आमरण अनशनप्रति सरकारको ध्यानाकर्षण भएको बताए ।
‘मैले पनि सांसद रेशमलाल सहित २४ जना बन्दीले आमरण अनसन शुरु गरेको सुने’ मन्त्री शाहले भने– ‘यसबारे सरकार निकै गम्भीर छ र सामाजिक एकता तथा सद्भावलाई बनाइराख्न तथा शान्ति सुरक्षामा खलल् पुग्न नदिन बन्दीहरूलाई अन्यत्र स्थानान्तरण पनि गर्न सकिने छ ।’
उनले कारागारमा रहेका बन्दीहरूलाई प्रदेशको सामाजिक सद्भाव खल्बलाउने तथा शान्ति सुरक्षामा असर पुग्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार