प्रदेश संसद बैठक : प्रदेश राजधानी र नामांकनदेखि शान्ति सुरक्षाका विषयमा छलफल
धनगढी । प्रदेश नम्बर ७ को आइतबारको संसद बैठकमा सांसदहरूले विशेष समय लिएर समसामयिक विषयमा छलफल गरेका छन् ।
सांसदहरूले प्रदेशको स्थायी राजधानी र नामांकन, विकास निर्माण, शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह, करण हत्या घटना, सीमा अतिक्रमण लगायतका विषयमा धारणा प्रस्तुत गरेका थिए ।
बैठकमा राष्ट्रिय जनता पार्टीका सांसदले हाल कारागारमा रहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीलाई विजयी प्रमाणपत्र दिनुपर्ने माग समेत गरे ।
७ नम्बर प्रदेश सभा (संसद) को यो चौथो बैठक हो । अघिल्ला तीनवटा बैठक संसदको आन्तरिक कार्यविधि तथा सभामुख र उपसभामुखको निर्वाचनमा केन्द्रीत भएका थिए ।
विगतका बैठकमा कार्यसूचीमा केन्द्रीत भएर प्रदेश संसदमा रहेका चार दलबाट एक/एक जना सांसदलाई मात्रै बोल्ने पालो दिइएको थियो ।
आइतबारको बैठकमा भने प्रदेश संसदमा सबैभन्दा ठूलो दल एमालेबाट तीन जना सांसदले बोलेका थिए ।
त्यस्तै, दोस्रो ठूलो दल माओवादी केन्द्र र तेस्रो दल काँग्रेसका दुई/दुई जना र राष्ट्रिय जनता पार्टी (राजपा) बाट एक जना सांसदले बोलेका थिए ।
बैठकमा डोटीबाट निर्वाचित नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले प्रदेशको स्थायी राजधानीबारे धारणा प्रस्तुत गरेका थिए ।
‘दिपायलमा स्थायी राजधानीको माग गर्दै लामो समयदेखि आन्दोलन भइरहेको छ’ बैठकमा सांसद खड्काले भने– ‘आन्दोलनकारीहरूसँग तत्काल वार्ताको वातावरण बनाउनु जरुरी भइसकेको छ ।’
सांसद खड्काले सात नम्बर प्रदेशको नामाकरणबारे पनि सुझाव प्रस्तुत गरे । उनले प्रदेश नम्बर ७ को नाम डोटी, खप्तड, सेतीमहाकाली अथवा अपीसाइपालमध्ये एक राख्नु उपयुक्त हुने सुझाव दिए ।
सांसद ख्डकाले संसदमा बहुमत तथा अल्पमतमा विभाजन हुनुभन्दा पनि दीर्घकालीन रूपमा फाइदा हुने र सामरिक महत्त्वको स्थानमा प्रदेशको राजधानी बनाउनु उपयुक्त हुने बताए ।
कञ्चनपुरबाट निर्वाचित एमालेका सांसद लालबहादुर खड्काले प्रदेश र स्थानीय सरकारसंग अझैं पर्याप्त कर्मचारी नभएकोले काम गर्न गाह्रो भइरहेको चर्चा गरे । उनले तत्कालका लागि स्थानीय तहका कर्मचारीहरूको सरुवा रोक्न केन्द्रीय सरकारसंग आग्रह गरे ।
एमाले सांसद खड्काले भारतको दुधुवा नेशनल पार्कबाट आएको जंगली हात्तीको एक बथानले कञ्चनपुरमा बालीनाली नष्ट गरेर आतंक मच्चाइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
बझाङबाट निर्वाचित माओवादी केन्द्रका सांसद देवकी मल्लले संघीयता शिशु अवस्थामा रहेकोले यसलाई हुर्काउन राम्रो पालन पोषणको आवश्यकता रहेको चर्चा गरिन् ।
सांसद मल्लले चमेलिया जलविद्युत आयोजनाबाट उत्पादित विद्युत सात नम्बर प्रदेशमा खपत गरेर मात्रै अन्यत्र पठाउनु पर्ने माग गरिन् । उनले कैलालीको खुटियादेखि डोटीको दिपायल हुँदै बझाङको ताक्लाकोट भएर चीन जोड्ने द्रुतमार्ग निर्माण कार्य छिटो आरम्भ गर्न माग गरिन् ।
आइतबारको संसद बैठकमा टीकापुर घटनाका मुख्य आरोपी सांसद रेशमलाल चौधरीको प्रसंग पनि उठ्यो ।
राजपाका सांसद कृष्णबहादुर चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई विजयी प्रमाणपत्र नदिएर राज्यले विभेद गरेको गुनासो गरे ।
संसद बैठकमा एमालेका सांसद नेपालु चौधरीले कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको चौडाई साँघुरो भएकोले दुर्घटनामा बृद्धि भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, दार्चुलाबाट निर्वाचित माओवादी केन्द्रका सांसद मानबहादुर धामीले प्रदेश र स्थानीय सरकार प्रभावकारी रूपमा सञ्चालनका लागि सबैलाई गम्भीर हुन आग्रह गरे ।
संसद बैठकमा होली अवसरमा गत १७ गते कैलालीको टीकापुरमा मानिसको भीडमा २१ वर्षीय करण थापाको हत्या भएको विषयले पनि चर्चा पायो ।
कैलालीको टीकापुरबाटै प्रतिनिधित्व गर्ने काँग्रेस सांसद रणबहादुर रावलले करणका हत्यारा पत्ता लगाएर कडा कानुनी कारवाही गर्न तथा मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।
एमालेकी सांसद दुर्गाकुमारी कामीले छाउपडी प्रथाका कारण अछाममा १३ जना महिलाले ज्यान गुमाएको प्रसंग चर्चा गर्दै त्यो प्रथा अन्त्यका लागि कडा कानुन बनाउन माग गरिन् ।