२१ बैशाख २०८१, शुक्रबार

विविध कार्यक्रमसहित कण्डम दिवस मनाइयो



धनगढी । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा कैलालीसहित देशभरी बुधबार विभिन्न कार्यक्रम भएका छन् ।
कण्डम दिवसको अवसरमा कैलाली जिल्ला जनस्वास्थ्य कार्यालय, सेती अञ्चल अस्पताल र एड्स हेल्थकेयर फाउण्डेसन नेपालको संयुक्त आयोजनामा धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकामा नि:शुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा सञ्चालन गरियो ।
यस क्रममा धनगढी उपमहानगरपालिकाको बसपार्कमा एक सय ५० जना र गौरिगंगा नगरपालिकाको बनबेहडामा दुई सय ५० जनाको नि:शुल्क रगत परीक्षण गरिएको थियो ।
त्यस्तै, दुवै ठाउँमा गरी पाँच हजार एक सय ८४ जनालाई नि:शुल्क कण्डम वितरण गरिएको जनाइएको छ ।
कार्यक्रमहरूमा सुरक्षित यौन तथा यौनजन्य रोगबाट जोगिन कण्डमको प्रयोग बढाउन र सही तरिकाले प्रयोग गर्ने विधिबारे सेवाग्राहीहरूलाई अभिमुखिकरण गरिएको थियो ।
सन् २०१६ को एक सर्वेक्षण अनुसार ७ नम्बर प्रदेशमा परिवार नियोजनको आधुनिक विधि अपनाउनेहरू कुल जनसंख्याको ४८ दशमलव एक प्रतिशत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार