२१ बैशाख २०८१, शुक्रबार

तीते करेलाको सेवनले हटाउँछ कब्जियत



तीते करेलाको नाम सुन्नेबित्तिकै धेरैजसोको आङ सिरिङ हुने गर्छ । नाममै ‘तीते’ भएको जिनिस कसरी मीठो होला भन्ने लाग्छ ।
यसका गुण यति धेरै छन् कि तीतोपन गौण हुन्छ । यो हरेक घरमा उपयोग गरिने तरकारी हो । यो विशुद्ध तरकारीमात्र नभई अत्यन्त राम्रो औषधिसमेत हो ।
यसमा फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ । यसबाहेक प्रोटिन, बोसो, खनिज, कार्बोहाइड्रेट, क्याल्सियम, फाइबरसमेत पाइन्छ । तीते करेलाले कफको समस्या भगाउँछ ।
यसको नियमित सेवनले कब्जियत हट्छ, खाना सजिलै पच्छ र भोक मज्जाले लाग्छ । पेटसम्बन्धी रोग निको पार्न यसलाई गुणकारी मानिन्छ । यसले कलेजोको कार्य प्रणालीलाई सुचारु गर्छ ।
करेलालाई रक्तशोधक औषधिसमेत मानिन्छ । मधुमेहका रोगीले यसको रस निकालेर वा तरकारीरअचार बनाएर खाँदा निकै राम्रो हुन्छ । करेलाको ‘एक्सट्रेक्ट’लाई करेटिन भनिन्छ ।
नेदरल्यान्डमा भएको एउटा अध्ययनमा करेटिनलाई ब्लड सुगर घटाउन उपयोगी पाइएको छ । करेलाको बीउमा इन्सुलिनजस्तो पेप्टाइड पाइन्छ ।
आयुर्वेदले यसलाई पक्षघात, दम निको पार्न लाभदायक मानेको छ । पायल्स, पत्थरीजस्ता रोग हटाउन पनि यो लाभदायक रहेको आयुर्वेदमा उल्लेख छ । होमियोप्याथिक औषधिमा लामो समयदेखि करेलाको उपयोग गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार