२१ बैशाख २०८१, शुक्रबार

धनगढीमा सिटी स्क्यान सेवा शुरु



धनगढी । कैलालीको धनगढीमा सिटी स्क्यान सेवा सुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, अस्पताल लाईनमा रहेको सेन्ट्रल डायग्नोष्टिक एण्ड ईमेजिङ्ग प्रालिले तीन महिनादेखि सिटी स्क्यान सेवा दिइरहेको शुक्रबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीबाट सञ्चालन अनुमति लिएर सेवा विस्तार गरिरहेको सेन्ट्रल डायग्नोष्टिकले छिट्टै एक्सरे, भिडियो एक्सरे, अल्ट्रा साउण्ड लगायतका सेवा विस्तार गरिने बताए । पौने चार करोडको लगानीमा सञ्चालनमा आउन लागेको सो कम्पनीले अरु स्वास्थ्य सेवा विस्तार गर्दा लगानी बढ्ने जनाइएको छ । ‘ट्रमा, हेड ईन्जुरी, पक्षघात लगायतका समस्या देखिएमा यस क्षेत्रका मानिसले सिटी स्क्यान गराउन भारत जानुपर्ने बाध्यता थियो’ पत्रकार भेटघाटका क्रममा डाक्टर विवेक खड्काले भने– धनगढीमै यो सेवा विस्तार भएपछि अब यस क्षेत्रका स्थानीयलाई सहज भएको छ । डाक्टर खड्काले बिरामीहरूको समय तथा खर्च दुवैमा राहत हुने बताए ।
७ नम्बर प्रदेशमा केही वर्षअघिसम्म सेवा नर्सिङ अस्पतालले सिटी स्क्यान सेवा दिंदै आएको भए पनि अहिले बन्द अवस्थामा छ । सेवा नर्सिङमा पनि यो सेवा नभएपछि यस क्षेत्रका विरामीहरु भारत, नेपालगञ्ज, काठमाडौं लगायतका स्थानमा जान बाध्य थिए ।
दुई करोड ७२ लाख रुपैयाँको लागतमा सो कम्पनीले मल्टी स्लाईड स्क्यान मेसिन जडान गरेको छ । यसको रेजुलेसन, रेडिटेसन, ईमेज क्वालिटि राम्रो रहेको डाक्टर खडकाले बताए । उनले सामान्यदेखि जटिल समस्याका रिपोर्टहरू छिटो दिने प्रयास आफुहरुले गरिरहेको बताए ।
‘सामान्य परीक्षण गरेको रिपोर्ट एक दिनमै दिन सकिन्छ भने जटिलको अवस्था अनुसार दुई वा तीन दिनभित्रै रिपोर्ट आउँछ’ उनले भने ।
डाक्टर खड्काले पछिल्लो समय पुरै शरीर चेकअपको फेसन चलेको बताए । ‘चिकित्सकसंगको सल्लाहमा मात्र आवश्यक जाँच गराउनु उपयुक्त हुन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार