२ जेष्ठ २०८१, बुधबार

गेटा आँखा अस्पतालमा सेवा लिने भारतीय उल्लेख्य



धनगढी । कैलालीमा रहेको गेटा आँखा अस्पतालमा उपचार सेवा लिनेमा भारतीय नागरिकको संख्या उल्लेख्य रहेको छ । आँखा अस्पताल प्रशासनका अनुसार ४६ प्रतिशत भारतीय नागरिकले उपचार सेवा लिएका छन् ।
गेटा आँखा अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा एक लाख दुई हजार तीन सय ३५ जना आँखाका विरामीले अस्पतालबाट सेवा लिएका थिए । तीमध्ये ४६ हजार ५० जना भारतीय नागरिक रहेका थिए ।
भारतको नैनीताल, लखनउ, पिलिभित, पलिया लगायतका स्थानबाट आँखाका विरामी गेटा आँखा अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालका बाह्य व्यवस्थापक रमेशचन्द्र भट्टले बताए ।
उनले गेटा आँखा अस्पतालले उत्कृष्ट सेवा दिने गरेका कारण भारत लगायत नेपालका धेरै स्थानबाट विरामी आउने गरेको बताए ।
गेटा आँखा अस्पतालले प्रदेश नम्बर ७ का विभिन्न स्थानमा नि:शुल्क आँखा शिविर समेत सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षमा सञ्चालित २८ आँखा शिविरबाट १० हजार पाँच सय ५७ मानिसले नि:शुल्क सेवा लिएको बाह्य व्यवस्थापक भट्टले बताए । शिविरबाट दुई हजार ३० जना बिरामीको नि:शुल्क आँखा अप्रेसन गरिएको थियो । त्यस्तै १० वटा क्याम्पमार्फत छ सय २० जनाको नि:शुल्क शल्यक्रिया गरिएको थियो ।
हालसम्म सञ्चालन गरेका नि:शुल्क शिविरबाट सवैभन्दा बढी मोतिबिन्दुका बिरामी देखापर्ने गरेको बाह्य व्यवस्थापक भट्टले बताए ।

कात्तिक १ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार