१० श्रावण २०८१, बिहीबार

एचआइभी संक्रमित घट्दै



धनगढी । कैलाली जिल्लामा एचआइभी संक्रमित विरामीको संख्या क्रमिक रूपमा घटिरहेको गैरसरकारी संस्था एड्स हेल्थ केयर फाउण्डेसन क्षेत्रीय कार्यालय धनगढीले जानकारी दिएको छ ।
फाउण्डेसनका क्षेत्रीय संयोजक माधव पन्तले सन् २००६ सम्म कैलालीमा एचआइभी संक्रमितहरूको संख्या कुल जनसंख्याको शून्य दशमलव ५७ प्रतिशत रहेकोमा २०१६ मा शून्य दशमलव १७ प्रतिशतमा झरेको जानकारी दिए ।
आर्थिक वर्ष २०७३/०७४ मा कैलालीमा एक सय १७ जना एचआइभी संक्रिमित फेला परेका र २० जनाको मृत्यु भएको उनले जानकारी दिए । पछिल्लो समय संक्रमितहरू खुलेर उपचारमा आउने गरेकोले रोगबाट मर्नेको संख्या घटेको उनले बताए ।
संक्रमित विरामी पत्ता लगाउन गर्भवती जाँच गराउन आउने हरेक महिलाको रगत परिक्षण गर्ने गरेको सेती अञ्चल एआरटी सेवाका फोकल पर्सन लोकराज पनेरूले बताए । रोजगारीको शिलशिलामा भारत जाने कामदारहरूमा बढी संक्रमण देखिने गरेको उनले बताए । संक्रमितहरूलाई नि:शुल्क औषधि र नि:शुल्क स्वास्थ्य परिक्षण गर्ने गरिएको छ । नियमित औषधि सेवन गरे विरामीको दैनिकी सहज हुने भए पनि कतिपय विरामीले विचैमा औषधि छोड्ने गरेका कारण समस्यामा पर्ने गरेका उनले बताए ।
जिल्ला जनस्वास्थय कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थय अधिकृत टंक चापागाईले एचआइभी रोग निमुर्लिकरण गर्न थालिएको प्रयास सकारात्मक रूपमा अघि बढेको बताए । हरेक वर्ष संक्रमितको संख्या घट्दै गएको बताउँदै वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईले नेपालमा हाल ३२ हजार सात सय ३५ जना एचआइभी संक्रमित रहेको जानकारी दिए ।

असाेज २८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार