२३ बैशाख २०८१, आईतवार

बजार अनुगमन तीब्र : दुई पसलमा ताल्चा लाग्यो



धनगढी । कालोबजारी र करछली गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका दुई पसलमा बुधबार ताल्चा लगाइएको छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्था राज्यमन्त्री कर्ण विकको नेतृत्वमा बुधबार धनगढीमा भएको बजार अनुगमनका क्रममा कालोबजारी र करछलीको आरोपमा धनगढीस्थित अनमोल विश्वास सु सेन्टर र पंकज ईन्टरप्राईजेजमा ताल्चा लगाइएको छ । दुवै पसललाई आवश्यक कागजपत्रसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने आदेश दिइएको राज्यमन्त्री विकले बताए ।
बजार अनुगमनका क्रममा टोलीले उपभोग्य म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरेको जनाइएको छ । अनुगमनका क्रममा धेरै जसो पसलमा मूल्यसूची देखिने गरी नराखेको, उपभोग्य म्याद नाघेका खाद्य सामग्री पनि बिक्रीका लागि राखिएको र लेवल नभएका सामान बिक्री भइरहेको पाइएको थियो । धनगढीस्थित राज स्टोरमा म्याद नाघेको विस्कुट लगायतका खाद्य सामग्री बरामद भएको बताइएको छ ।
त्यस्तै, अनुगमन टोलीले धनगढीका सुनचाँदी पसलहरूमा पनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा गहना कारिगरलाई न्यून ज्याला दिएर पसलेले ग्राहकसंग बढि ज्याला असुल गर्ने गरेको पाइएको छ ।
बुधबारको अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालयले पुन: कमजोरी देखाएको छ । मंगलबारको बजार अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालयका कर्मचारी ढकतराजु नलिएर अनुगमनमा गएका थिए । बुधबार सो कार्यालयका प्रतिनिधिले सुनचांदी पसलका ढकतराजु ठिक छन् वा छैनन् भन्ने समेत छुट्याउन सकेनन् । कुनै पनि पसलले प्रयोग गर्ने ढकतराजु नापतौल कार्यालयले प्रमाणित गर्नुपर्ने प्रावधान छ ।
त्यस्तै, नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयमा पनि अनुगमन टोलीले अनुगमन गरेको छ । संस्थानमा अनुगमनका क्रममा खाद्य संस्थानले सुपथ मूल्य पसलमा चामल र पिठो बिक्री वितरण गर्ने भनिएकोमा चामल मात्रै बिक्रीका लागि राखिएको पाइएको थियो ।
राज्यमन्त्री विकले खाद्य संस्थानलाई दशैंतिहारको अवधिभर आवश्यक पर्ने चामल अभाव हुन नदिने गरी काम गर्न निर्देशन दिएका थिए ।
उनले राज्यका संयन्त्रहरूलाई क्रियाशील बनाउन आफूले अहिले देशव्यापी रूपमा बजार अनुगमन तीब्र बनाएको बताए । उनले सरकारले आम उपभोक्तालाई ठगिनबाट जोगाउन, कालोबजारी नियन्त्रण गर्न तथा दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन हरसम्भव प्रयास गरिरहेको बताए ।

असाेज ०५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार