२३ बैशाख २०८१, आईतवार

मासुपसलमा अनुगमन



धनगढी । धनगढी उपमहानगरपालिकाभित्र रहेका मासु पसलहरूमा सोमबार अनुगमन गरिएको छ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको संयोजकत्वमा धनगढीका विभिन्न मासु पसलमा अनुगमन गरिएको थियो ।
दशैंतिहारमा उपभोक्ताहरूले स्वच्छ, सफा र गुणस्तर मासु प्राप्त गराउने उद्देश्यले धनगढी उपमहानगरपालिकाका मासु पसलहरूको अनुगमन गरिरहेको धनगढी उपमहानगरपालिकाका मेयर वडले बताए ।
अनुगमनका क्रममा धनगढीका अधिकाँस मासु पसल दर्ता नविकरण नगरेको पाइएको धनगढी उपमहानगरपालिका मेयर वडले बताए ।
नौ वटा मासु पसलमा गरिएको अनुगमनका क्रममा नेहाल मासु पसलमा बाख्रीको मासु बिक्रीका लागि राखिएको पाइएको छ । एक वर्षअघि पनि मासु पसल सञ्चालक सञ्जय चौधरीले बाख्रीको मासु बिक्री गरेको पाइएपछि कारबाही गरिएको थियो । उपमहानगरपालिकाका सामुदायिक विकास शाखा अधिकृत टंक बिष्टले सोमबार अनुगमनका क्रममा पनि नेहाल मासु पसलमा पुन: गल्ती दोहोर्‍याएको पाइएकोले कडा कारबाही हुने बताए ।
त्यस्तै, सहकारी संस्थामार्फत सञ्चालित लेकाली मासु पसलसहित चार वटा मासु पसलबाट ढक तराजु जफत गरिएको छ । लेकाली मासु पसल सहित धनगढी उपमहानगरपालिकामा रहेका अधिकाँस मासु पसलको अवस्था प्रदूषित रहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
‘बजार अनुगमन गर्दा जहिले पनि पसलहरूमा गल्ती नै भेटिन्छ’ उपभोक्ता मञ्चका अध्यक्ष हरि रेग्मीले भने– ‘अखाद्य वस्तु विक्रीवितरण गर्नेलाई सम्झाईबुझाई छोड्ने प्रवृत्तिले बजारमा अखाद्य वस्तुको विक्रीवितरणमा बृद्धि भइरहेको छ ।’ उनले मासु पसलले बाख्रा भनेर बाख्रीको मासु बेच्ने गरेकोले बाख्रा र बाख्रीको मासु पसल अलग–अलग हुनुपर्ने बताए ।
अनुगमनमा धनगढी उपमहानगरपालिकाका मेयर वड, कार्यालयका कार्यकारी अधिकृत पुरुषोत्तम शर्मा, प्रशासकीय अधिकृत सुरेन्द्र कार्की, सामुदायिक विकास शाखा अधिकृत विष्ट, पशुसेवा कार्यालयका मीनबहादुर थापा, माछामासु व्यावसायी संघका जीतेन्द्र यादव, उपभोक्ता मञ्चका रेग्मी, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि, प्रहरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार