२३ बैशाख २०८१, आईतवार

प्रवेश शुल्कले बढायो आम्दानी



धनगढी । धनगढीस्थित क्षेत्रीय रंगशालाको सञ्चालन व्यवस्थित बनाइएपछि जिल्ला खेलकुद विकास समितिको आन्तरिक आम्दानीमा पनि क्रमश: बृद्धि भइरहेको छ ।
कैलाली जिल्ला खेलकुद विकास समितिले दुई वर्षदेखि क्षेत्रीय रंगशाला व्यवस्थित ढंगले सञ्चालन गरेपछि आम्दानी पनि बढेको छ ।
जिल्ला खेलकुद विकास समितिले रंगशालामा नियमित बाहेकका खेलाडी तथा अन्य व्यक्तिलाई प्रवेशका लागि प्रवेश शुल्क र खेलाडीका लागि परिचयपत्र बनाउँदा शुल्क लिने व्यवस्था गरेको छ । खेलकूद विकास समितिका अध्यक्ष दीपकबहादुर सिंहका अनुसार रंगशालामा प्रवेश शुल्क लगाउँदा करिब २१ महिनाको अवधिमा करिब दुई लाख रुपैयाँ आम्दानी भएको छ ।
व्यवस्थापनको अभावमा गौचरनमा परिणत हुनुका साथै भौतिक संरचना टुटफुट हुने र गलत क्रियाकलाप पनि बृद्धि हुन थालेपछि जिल्ला खेलकुद विकास समितिले व्यवस्थित गर्ने प्रयास गरेको छ ।
खेलकुद विकास समितिका अध्यक्ष सिंहका अनुसार २०७२ पुसदेखि रंगशालामा प्रवेश शुल्क लगाइएको छ । सो अवधिदेखि २०७४ असार मसान्तसम्म प्रवेश शुल्क र खेलाडीको परिचयपत्र वापत एक लाख ९१ हजार आठ सय ५० रुपैयाँ आम्दानी भएको छ । विगतमा नियमित खेलाडी बाहेकका व्यक्तिहरूको अनावश्यक प्रवेशका कारण रंगशालामा नियमित खेलाडीले अभ्यास गर्न नपाउने, भौतिक संरचना बिग्रने र अनैतिक क्रियाकलाप समेत हुन थालेपछि कवर्डहल समेत रहेको रंगशाला व्यवस्थित गर्ने प्रयास गरिएको उनले बताए । रंगशालामा प्रवेश शुल्कको व्यवस्था गरिएपछि अहिले आवश्यक भिडभाड कम भएको र आन्तरिक आम्दानीमा बृद्धि भएको छ ।
खेलकूद विकास समितिले नियमित बाहेकका खेलाडीसंग महिनाको एक सय, छ महिनाको पाँच सय र एक वर्षको एक हजार रुपैयाँ प्रवेश शुल्क तोकेको छ । त्यस्तै, ब्याडमिन्टनका भेट्रानसंग प्रतिमहिना सात सय रुपैयाँ शुल्क लिने गरिएको छ ।
अध्यक्ष सिंहले २१ महिनाको अवधिमा एक हजार पाँच सय जनाले शुल्क तिरेर रंगशालामा प्रवेश गरेको बताए । रंगशाला प्रवेश शुल्कबाट उठेको रकमले प्रशिक्षक, कार्यालय सहयोगी, गेटपाले र कुचिकारलाई तलव दिन केही सजिलो भएको खेलकूद विकास समितिले जनाएको छ ।
अध्यक्ष सिंहका अनुसार बिहान ४ देखि ८ बजेसम्मको समयमा राजनीतिककर्मी, सुरक्षाकर्मी, कर्मचारी, व्यापारी तथा अन्य व्यक्तिको रंगशालामा जथाभावी प्रवेशले गर्दा नियमित खेलाडीलाई अभ्यासमा बाधा पुगिरहेको थियो ।
खेलकूद विकास समितिले नियमित खेलाडी तथा अरुलाई अलगअलग किसिमको परिचयपत्र वितरण गरिएको छ । प्रवेश शुल्क लिन थालेपछि परिचयपत्र भएकालाई मात्र रंगशालामा दौडिन, व्याडमिन्टन खेल्ने अनुमति दिइएको जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताए । ब्याडमिन्टन खेल्ने भेट्रानलाई ८ बजेपछिको समय तोकिएको छ ।

भदाै ३० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार