२० बैशाख २०८१, बिहीबार

उपमहानगरपालिकाले शुरु गर्‍यो– एक वडा एक पार्क कार्यक्रम



धनगढी । सुन्दर र हराभरा धनगढी अभियानलाई सघाउ पुर्‍याउन उपमहानगरपालिकाले ‘एक वडा–एक पार्क’ कार्यक्रम अघि बढाएको छ ।
यस क्रममा उपमहानगरपालिकाका सबै १९ वडामा कम्तिमा एउटा पार्क (उद्यान) निर्माण गरिने जनाइएको छ ।
धनगढी उपमहानगरपालिका कार्यालयले प्रत्येक वडामा पार्क निर्माणका लागि उचित स्थानको पहिचान गर्ने काम भइरहेको र जग्गाको टुंगो लागेका वडामा पार्क निर्माण प्रक्रिया अघि बढाइएको जनाएको छ ।
उपमहानगरपालिकाले वडा नम्बर १५ स्थित कनरीमा रहेको पाँच बिघा जमिनमा पार्क निर्माण कार्य शुरु गरिसकेको जनाएको छ ।
त्यस्तै, फूलबारीमा चिल्ड्ेरन पार्क र धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित नेतुवा तालमा वाटर पार्क निर्माणका लागि अध्ययन भइरहेको जनाइएको छ ।
वडा नम्बर १५, कनरीमा निर्माणाधीन पार्कको लागत दुई करोड ७५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिले कनरीमा पार्कको पर्खाल तथा भौतिक संरचना निमार्णको काम भइरहेको छ ।
कनरीमा पार्क निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटन आगमनमा बृद्धि हुने अपेक्षा गरिएको छ । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले कनरी पार्कले वेहडाबाबा मन्दिर दर्शन गर्न आउने जाने दर्शनार्थीलाई समेत आकर्षित गर्ने विश्वास व्यक्त गरे । उनले भने– धनगढी भ्रमणमा आउने पर्यटकलाई एक दिन बढी भए पनि यही रोक्न यो (कनरी) पार्कले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
डेढ वर्षभित्र निर्माण कार्य पुरा गर्ने लक्ष्यअनुरुप हाल सो पार्क निर्माणमा दैनिक एक सय जना मजदूर काम गरिरहेको जनाइएको छ । पार्क निर्माणमा जुटेका कामदार तेजराम रानाले पार्क निर्माणका कारण स्थानीयले ठूलो रोजगारी पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार