२० बैशाख २०८१, बिहीबार

शहरी विकास परियोजनाको काम शुरु हुँदै



धनगढी । धनगढी उपमहानगरपालिकामा शहरी विकास परियोजना निर्माण कार्य शुरु हुने भएको छ । एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा कैलाली र कञ्चनपुर जिल्लाका चार वटा नगरपालिकामा सञ्चालन हुन लागेको परियोजना कार्यान्वयनका लागि एडीबीका डिजाइन तथा सुपरिभिजनका ११ जनाको विज्ञ टोली आइपुगेको छ ।
विज्ञ टोलीले सोमबार धनगढीमा आयोजना गरेको एक कार्यक्रममा परियोजना पूर्ण रूपमा कार्यान्वयन गर्न धनगढी उपमहानगरपालिकाले सडक निर्माण तथा विस्तारका लागि आवश्यक बाटो खाली गर्नुपर्ने, फोहोर व्यवस्थापन तथा बसपार्क लगायत निर्माण कार्यका लागि आवश्यक जग्गाको व्यवस्था गर्नुपर्ने चर्चा गरियो ।
‘उपमहानगरपालिकाले जति चाडो बाटो खाली गर्छ, बसपार्क, डम्पिङसाइट तथा अन्य भौतिक संरचना निर्माणका लागि जग्गाको व्यवस्था गर्छ, त्यति नै चाडो हामीले काम अघि बढाउँछौं’ कार्यक्रममा एडीबीका परामर्शदाता अनिल नेपालले भने– ‘उपमहानगरपालिकाले आफ्नो तर्फबाट पुरा गर्नुपर्ने सम्पन्न गरेपछि हामीले सर्भे, डिजाईन ईष्टिमेट, टेण्डर र निर्माण कार्य अघि बढाउने छौं ।’
परामर्शदाता नेपालले दशैंतिहारको बीचमा नै परियोजनाले सर्भे कार्य अघि बढाउने बताए । उनले एडीबीले परियोजनाअन्तर्गत परम्परागतभन्दा पनि आधुनिक प्रविधि (सेटेलाईट) बाट सर्भेको काम गर्ने बताए ।
उनले परियोजनालाई सफल पार्न पैसाको कमी नभएक र नागरिक र उपमहानगरपालिकाको साथ सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले परियोजनालाई सफल पार्न हरसम्भव प्रयास गर्ने बताए ।
नगरप्रमुख वडले सबै वडाध्यक्ष तथा सदस्यहरूलाई आफ्नो ठाउँबाट परियोजना सफल बनाउन आग्रह गरे । ‘यो परियोजना सफल हुँदा धनगढीको समृद्धितर्फको यात्रा अघि बढ्ने छ’ उनले परियोजना सञ्चालन गर्दा नागरिकले थोरै समस्या बेहोर्नुपर्ने बताए । ‘धनगढीको समृद्धिका लागि नगरबासीले केही समस्या र कठिनाईलाई सहज ढंगबाट लिनु पर्दछ’ उनले परियोजना सफल हुँदा धनगढीले अहिले भोग्नुपरिरहेको फोहोर व्यवस्थापन, खानेपानी, ढल निकास, भूउपयोग, सडक तथा यातायात व्यवस्थापन लगायतका अधिकांस समस्याको समाधान हुने बताए ।
एडिबीले उपमहानगरपालिकाको दीर्घकालीन विकासका लागि भनेर यो परियोजना सञ्चालन गर्न लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार