२३ बैशाख २०८१, आईतवार

एक सातामै हवाई भाडादर एक हजार आठ सयले घट्यो



धनगढी । धनगढी रुटमा हवाई उडान भर्ने होडबाजीबीच भाडादरमा पनि निरन्तर कमी आइरहेको छ । काठमाडौं–धनगढी–काठमाडौं रुटमा हवाई यातायात सेवा सञ्चालन गरिरहेका एयरलाइन्सहरूबीच चर्को प्रतिस्पर्धासंगै एकसाताभित्रै एक हजार आठ सय रुपैयाँले भाडा दरमा कमी आएको छ ।
तीन दिनअघि सोमबार धनगढी–काठमाडौं रूटमा भाडादर कम गरेका एयरलाइन्सहरूले बिहीबार अझ भाडा घटाएका छन् ।
अघिल्लो साता न्युनतम चार हजार नौ सय रुपैयाँबाट चार हजार रुपैयाँमा कायम गरेका एयरलाइन्सहरूले बिहीबार धनगढी–काठमाडौंको भाडादर तीन हजार एक सय रुपैयाँसम्म कायम गरेका छन् ।
काठमाडौं–धनगढी–काठमाडौं रुटमा लामो समयदेखि हवाई उडान गर्दै आएको बुद्ध एयरलाइन्सले दिनुहँ भाडादर कम गर्न थालेपछि यो रुटमा हवाई यातायात सेवा सञ्चालन गर्ने अन्य तीन एयरलाइन्स, नेपाल एअरलायन्स, सौर्य र श्री एयर पनि भाडा कम गर्न बाध्य भएका छन् ।
वुद्धले धनगढी–काठमाडौ रुटमा न्युनतम तीन हजार एक सय र काठमाडौ–धनगढीका लागि न्युनतम चार हजार सात सय रुपैयाँ भाडा निर्धारण गरेको छ ।
वुद्ध एयरसंग प्रतिस्पर्धा गर्दै सौर्य र श्री एयरले पनि धनगढी–काठमाडौका लागि तीन हजार दुई सय र काठमाडौ–धनगढीका लागि चार हजार पाँच सय रुपैयाँ भाडा कायम गरेको सौर्य एयरलाइन्सका प्रमुख वजार व्यवस्थापक मुकेश खनालले वताए ।
त्यस्तै, राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले पनि धनगढी–काठमाडौको न्युनतम भाडा चार हजार र काठमाडौ–धनगढीको भाडा चार हजार पाँच सय रुपैयाँ कायम गरेको धनगढी स्टेशनका प्रमुख कुलप्रसाद ओझाले बताए ।
वुद्ध एयरका धनगढी स्टेशन इन्चार्ज बुधराम माझीले वुद्धको न्यूनतम भाडा दर चार हजार नौ सय नै रहेको भए पनि जहाज खाली जाने अवस्थामा विशेष योजना अन्र्तगत तीन हजार एक सय रुपैयाँसम्म भाडा लिएर यात्रुलाई उडाउने गरेको बताए ।
श्री एयरलाइन्सका सहायक स्टेशन प्रमुख रनसिंह ठकुल्लाले पनि भाडादर घटाएको स्वीकार गरे । ‘पहिले ५० सिट जहाज थियो, अहिले ७० सिटको जहाज आएको छ’ सहायक स्टेशन प्रमुख ठकुल्लाले भने– जहाजको सिट खाली जानु भन्दा भाडामा केही कम गरेर भए पनि उडाउने गरेका छौं ।
धनगढीमा अहिले वुद्ध र श्री एयरलाइन्सले दैनिक दुई/दुई फ्लाइट गरिरहेका छन् भने सौर्य र नेपाल एयरलाइन्सले एक/एक उडान भर्दै आएका छन् ।
जहाजहरुको प्रतिस्पर्धाले यात्रुहरु भने छिटो, सुरक्षित र सस्तो भाडामा धनगढी– काठमाडौ आवतजात गर्न पाउन थालेका छन । अव धनगढी काठमाडौको जहाज भाडा र वस भाडा झण्डै झण्डै उस्तै उस्तै हुन थालेको छ । धनगढी वा काठमाडौबाट छुट्ने वातानुकुलित वसले दुई हजार रुपैयाँ भाडा लिने गर्दछन । भने जहाजको तीन हजार एक सय रुपैयाँ भाडा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार