५ जेष्ठ २०८१, शनिबार

एयरलाइन्सहरूबीच तीब्र प्रतिस्पर्धा, हवाई भाडा घट्यो



धनगढी । काठमाडौं–धनगढी रुटमा हवाई उडान सेवा प्रदान गरिरहेका एयरलाइन्सहरूबीच तीब्र प्रतिस्पर्धाका कारण हवाई यातायात भाडा घटेको छ ।
काठमाडौं–धनगढी रुटमा अहिले चार वटा एयरलाइन्सबाट गरी दैनिक छ वटा हवाई उडान हुने गरेका छन् । यो रुटमा हवाई उडान संख्या थपिएसंगै एयरलाइन्सहरूबीच भाडा घटाउने प्रतिस्पर्धा भइरहेको छ ।
धनगढी–काठमाडौं रुटमा आइतबारसम्म एकतर्फी भाडा न्यूनतम चार हजार नौ सय रुपैयाँ रहेकोमा सोमबार चार हजार रुपैयाँ भाडामा पनि यात्रुले यात्रा गर्न पाएका छन् । यद्यपि अहिले पनि काठमाडौं–धनगढी रुटमा न्यूनतम हवाई भाडा दर चार हजार नौ सय रुपैयाँ नै रहेको छ ।
‘सोमबार वुद्ध एयरलाइन्सले धनगढीदेखि काठमाडौंसम्म चार हजार रुपैयाँमा यात्री बोकेपछि हामीले पनि चार हजार तीन सय न्यूनतम भाडा लिन थालेका छौं’ सौर्य एयरलाइन्सका प्रमुख बजार व्यवस्थापक मुकेश खनालले अनुमोदनसंग भने– ‘अर्को निर्णय नभएसम्म न्यूनतम भाडा दर यही कायम रहने छ ।’
वुद्ध एयरका धनगढी स्टेशन प्रमुख बुधराम माझीले धनगढी–काठमाडौंको न्यूनतम भाडा दर अहिले पनि चार हजार नौ सय रुपैयाँ नै भए पनि विमानमा केही सिट खाली जाने अवस्था सिर्जना भएकाले विशेष योजनाअन्तर्गत चार हजार रुपैयाँ भाडामा पनि यात्रीलाई उडाइएको बताए ।
श्री एयरलाइन्सका धनगढी स्टेशनका सहायक प्रमुख रनसिंह ठकुल्लाले श्री एयरले अहिले पनि धनगढी–काठमाडौं रुटमा न्यूनतम हवाई भाडा चार हजार नौ सय रुपैयाँ नै कायम राखेको बताए । उनले भने– ‘यसरी सबैले भाडा दर कम गर्दै जाने हो भने कोही पनि माथि उठ्न सक्दैनन्, सबैलाई घाटा मात्रै हुने छ ।’
सौर्य र बुद्ध एयरले धनगढी–काठमाडौं रुटमा हवाई भाडा कम गरेपछि राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सले पनि मंगलबारदेखि धनगढी–काठमाडौंको भाडादर न्यूनतम चार हजार पाँच सय कायम गरेको धनगढी स्टेशन प्रमुख कुलप्रसाद ओझाले बताए । नेपाल एयरलाइन्सको सो रुटमा न्यूनतम भाडादर पाँच हजार रुपैयाँ रहेको थियो ।
लामो समयदेखि बुद्ध एयरले काठामाडैं–धनगढी–काठमाडौं रुटमा हवाई उडान सेवा दिँदै आएकोमा पछिल्लो पटक नेपाल एयरलाइन्स, श्री एयरलाइन्स तथा सौर्य एयरलाइन्सले पनि सेवा दिइरहेका छन् । बुद्धसंगै काठमाडौं–धनगढी रूपमा हवाई उडान सेवा दिँदै आएको यति एयरलाइन्सले भने हाल सेवा बन्द गरेको छ ।
जेट विमानको इन्जिन भएका सौर्य र श्री एयरका जहाजले काठमाडौं–धनगढीसम्मको यात्रा ४५ मिनेटमा पुरा गर्ने गरेका छन् । बुद्ध एयर तथा नेपाल एयरलाइन्सका जहाजले भने सो रुटमा ७५ मिनेट लगाउने गरेका छन् ।
३० मिनेट कममा काठमाडौं–धनगढीको हवाई यात्रा सुविधा प्राप्त हुन थालेपछि यात्रीहरू आकर्षित हुने अनुमानका साथ बुद्ध एयरले भाडा कम गरेको हुनसक्ने बताइन्छ । बुद्धले भाडादर कम गरेपछि प्रतिस्पर्धामा टिकिराख्न अरु एयरलाइन्सले पनि भाडादर कम गरेका छन् ।
एयरलाइन्सबीचको भाडादर कम गर्ने प्रतिस्पर्धाका कारण यात्रीलाई भने राहत भएको छ । धनगढीदेखि काठमाडौंसम्म वातानुकुलित यात्रुबाहक बसको भाडादर नै दुई हजार रुपैयाँ रहेको छ ।
अहिले काठमाडौं–धनगढी–काठामाडौं रुटमा बुद्ध एयर र श्री एयरले दैनिक दुई फ्लाइट गरिरहेका छन् भने सौर्य र नेपाल एयरलाइन्सले दैनिक एक/एक वटा उडान भर्दै आएका छन् ।

भदाै २१ गते (epaper)

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार