५ जेष्ठ २०८१, शनिबार

गौरा महोत्सव समापन



धनगढी । सुदूरपश्चिमको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व गौराका अवसरमा धनगढीमा आयोजित गौरा महोत्सवको शुक्रबार समापन भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कैलाली तथा युवा विकास केन्द्रको आयोजनामा सो महोत्सव सञ्चालन भएको थियो ।
महोत्सवको शुक्रबार एक समारोहबीच गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवाले समापन गरे ।
महोत्सव समापनका अवसरमा कला, संस्कृति तथा साहित्यको क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरियो ।
सो अवसरमा साहित्यकार मनिराज जोशी, गायक भोजराज भाट, पत्रकार नवराज पनेरु लगायतका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
धनगढीमा अघिल्लो वर्षदेखि गौरा महोत्सव आयोजना हुन थालेको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रदेश नम्बर ७ का संयोजक सुरत रावत डोटेलीकान्छाले सुदूरपश्चिमको मौलिक कला, संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले गौरा महोत्सव आयोजना गरिएको बताए ।
यसैबीच, गौरा महोत्सवका अवसरमा आयोजना गरिएको राष्ट्रिय देउडा प्रतियोगिता पनि शुक्रबार नै समापन भएको छ ।
देउडा प्रतियोगितामा सुदूर तथा मध्यपश्चिमका विभिन्न जिल्लाका गरी १४ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसको पुरुष समूह प्रथम भएको छ । त्यस्तै, कालिकोट समूह द्वितीय तथा कैलाली बहुमुखी क्याम्पस, महिला समूह तृतीय भएको छ । भने तारानगर महिला समूहले सान्त्वना स्थान प्राप्त गरेको छ ।
विजेताहरूले क्रमश: दश हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको महोत्सव आयोजक समिति संयोजक युवराज जोशीले बताए ।

भदाै १७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार