२१ भाद्र २०८१, शुक्रबार

बालबालिकालाई वैदेशिक रोजगार छात्रवृत्ति वितरण



धनगढी । बिहीबार धनगढीमा छोराछोरीको नाममा आएको वैदेशिक रोजगार छात्रवृत्ति प्राप्त गरेपछि कैलालीका लम्कीकी पार्वती थापा दंग परिन् । पार्वतीका श्रीमानको वैदेशिक रोजगारका क्रममा छ वर्ष अघि विदेशमै मृत्यु भएको थियो ।
उनका तीन छोराछोरी छन् । छोरा मोहन कक्षा ६ मा र छोरी सरस्वती कक्षा ९ मा र उर्मिला कक्षा ६ मा अध्ययनरत छन् । ‘श्रीमानको मृत्युपछि जसोतसो छोराछोरीको लालनपालन गरिरहेकी छु’ वैदेशिक रोजगार छात्रवृत्ति रकम बुझ्दै उनले भनिन्– ‘यो रकमले कमसेकम छोराछोरीको पढाईमा केही राहत पुगेको छ ।
उनी झैं धनगढी उपमहानगरपालिका वडा नम्बर १४ सी गाउँका मधु चौधरीले पनि दुई जना छोराका लागि छात्रवृत्ति रकम प्राप्त गरिन् । उनका श्रीमानको दुई वर्षअघि वैदेशिक रोजगारका क्रममा मृत्यु भएको थियो । उनका जेठा छोरा शिवचरण कक्षा १० र कान्छो छोरा अविनाश कक्षा ६ मा पढिरहेका छन् । उनी खेतीपाती गरेर छोराछोरीको लालनपालन गर्दै आएकी छिन् ।
बिहीबार चुहाकी तुलसी देवकोटाले दुई छोरीका लागि छात्रवृत्ति रकम बुझिन् । वैदेशिक रोजगारका क्रममा श्रीमानको मृत्य भएपछि समाजले आफूप्रति हेर्ने दृष्टिकोणमा फरक आएको तितो अनुभव गरेकी तुलसीले हिम्मत गरेर छोराछोरीको लालनपालन गरिरहेको बताइन् । ‘यस्तो सहयोग (छात्रवृत्ति) ले हामी जस्ता महिलालाई अगाडि बढ्न सहयोग र हिम्मत प्राप्त हुन्छ’ उनले भनिन् ।
वैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिका छोराछोरीलाई वैदेशिक रोजगार छात्रवृत्ति वितरण गर्ने क्रममा कैलालीका ३२ जना विद्यार्थीले सो रकम वितरण गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्रदान गर्ने सो छात्रवृत्ति रकम बिहीबार जिल्ला शिक्षा कार्यालयले सम्बन्धित अभिभावकलाई वितरण गरेको थियो ।
जिल्ला शिक्षा कार्यालयका अनुसार २८ जना विद्यार्थीलाई जनही आठ हजार रुपैयाँका दरले तथा चार जनालाई १२ हजारका दरले रकम वितरण गरिएको छ । छात्रवृत्ति रकम प्राप्त गर्ने २८ जनामध्ये बिहीबार २५ जनाले रकम प्राप्त गरेका छन् ।
वैदेशिक रोजगारीको क्रममा काम गर्ने मुलुकमा मृत्यु भएका व्यक्तिका छोराछोरीलाई कक्षा १ देखि १२ सम्म अध्ययन गर्दा छात्रवृत्ति पाउने व्यवस्था छ । कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीलाई जनही आठ हजार र ९ देखि १२ अध्ययन गर्ने विद्यार्थीलाई जनही १२ हजार रुपैयाँका दरले छात्रवृत्ति पाउने व्यवस्था छ ।
वैदेशिक रोजगार छात्रवृत्ति कार्यक्रम आर्थिक वर्ष २०७१/०७२ बाट लागू भए पनि कैलालीबाट वैदेशिक रोजगारमा गएका मध्ये मृत्यु भएका आप्रवासी कामदारका छोराछोरीले पहिलो पटक सो छात्रवृत्ति पाएका हुन् ।
सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनाका कार्यक्रम अधिकृत कृष्णबहादुर विकले छात्रवृत्तिको लागि आवेदन आव्हान भएको थाहा पाएर परियोजनाले गाउँगाउँसम्म सूचना प्रवाह गरेपछि मृतक आप्रवासी कामदारका परिवारले गत चैतमा आवेदन पेश गरेको बताए ।

भदाै १६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार