४ जेष्ठ २०८१, शुक्रबार

ठूलो परिमाणमा अवैध सुन बरामद



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार चीनबाट भित्रिएको २२ किलो अवैध सुनमध्ये १५ किलो बरामद गरेको छ । प्रहरीले काठमाडौं टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो गरी १५ किलो सुन नियन्त्रणमा लिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रहरीकाअनुसार चीनबाट भित्रिएको मध्ये ७ किलो सुनको खोजी भइरहेको छ ।
सुनसँगै काठमाडौ टोखाका पेम्बा दोर्जे शेर्पा, भक्तपुर सूर्यविनायकका दीपेन्द्र थापा, राजेन्द्र खत्री, रवीन खत्री, काठमाडौं बानेश्वरका सरोज थापा, काभ्रे पाँचखालका विष्णु गौतम र धनुषा जनकपुरका दीपककुमार साहसहित ७ जना पक्राउ परेका छन् ।
पत्रकार सम्मेलनमा ब्युरोले चीनबाट रसुवा हुँदै काठमाडौं भित्र्याउने क्रममा सुन समातिएको जनाएको छ २२ मध्ये ८ केजी सुन काठमाडौं बानेश्वरका दीपेन्द्र थापा र सरोज थापाले किनेका थिए । उनीहरुले किनेको सुनमध्ये दुई केजी काठमाडौंमै बेचेको र अरु सुन केही भारत निकासी भइसकेको प्रहरी आशंका छ ।
सुन तस्करहरुको साथबाट १० च ४१ १३ भएको सेतो रंगको गाडी, एकथान स्कुटर, ६ सय अमेरिकी डलर र ११ सय ९९ चिनियाँ मुद्रा युयान पनि बरामद गरिएको छ । संगठित अपराधका रुपमा सुन तस्करी भएको सीआईबीको भनाइ छ । सीआईबीका अनुसार संगठित अपराध एेनअन्तर्गत सात दिनको म्याद लिएर सुन तस्करीबारे अनुसन्धान जारी राखेको छ ।
त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको करिब ३४ किलो सुन पक्राउ भएको करिब ६ महिनापछि ब्युरोले यतिका धेरै परिमाणको सुन पक्रेको हो ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार