१० श्रावण २०८१, बिहीबार

राजश्व संकलनमा गिरावट




धनगढी ।
विगतको तुलनामा कैलाली भन्सार कार्यालयको राजश्व संकलनमा चालू आर्थिक वर्ष २०७४/०७५ को पहिलो महिनामा गिरावट आएको छ ।
कैलाली भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो महिना अर्थात् साउनमा जम्मा १९ करोड ४३ लाख ५१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । भन्सार कार्यालयलाई साउन महिनाका लागि २७ करोड १५ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिइएको थियो । तर यो महिनामा ७१ दशमलव ५६ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।
गत आर्थिक वर्ष २०७३/७४ को साउन महिनामा कैलाली भन्सार कार्यालयले एक सय १७ प्रतिशत राजश्व संकलन गरेको थियो । गत आर्थिक वर्ष भन्सार कार्यालयलाई साउन महिनामा १३ करोड आठ लाख ४३ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य प्राप्त भएकोमा १५ करोड ३८ लाख ७० हजार रुपैयाँ संकलन भएको थियो ।
भन्सार छलीमा बढोत्तरी हुनु नै भन्सार कार्यालयले लक्ष्य प्राप्त गर्न नसकेको स्रोतले जनाएको छ । पछिल्लो समय ठुला व्यापारिक सामग्री बाहेक साना तथा खुद्रा सामग्री ठूलो परिमाणमा अन्य नाकाबाट नेपाल भित्रिने गरेको बताइन्छ ।
सवारी साधनका स्पेयर्स पार्ट्स, ग्यास, डिजल, पेट्रोल, कुखुराका दाना लगायतका सामग्री भन्सार कार्यालय भएर भित्रिने गरे पनि कस्मेटिक, चिनी, तयारी कपडा लगायतका सामग्री चोरी नाका भएर आउने गरेको स्रोतको दाबी छ ।
कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत नरेशप्रसाद आचार्यले पनि चोरी पैठारीमा बृद्धि हुनु नै प्रमुख समस्या रहेको बताए । भारतमा वस्तु बिक्री कर (जीएसटी) ले कुनै प्रभाव नपारेको र नेपालले लागु गरेको एक्स्टीम कोड पनि राम्रो भएको उल्लेख गरे । जीएसटीले भन्सार एजेन्टले बनाउने नक्कली बिल नियन्त्रणमा आउँछ उनले भने । जिएसटी प्रणाली लागू भएपछि कारोबारीले प्रज्ञापनपत्र भर्दा ढुवानी साधन नम्बर एकीन गरेर भर्नुपर्ने र पछि ढुवानी साधन नम्बर फरक परेमा बिग्रेको अवस्था बाहेक नसच्याउने व्यवस्था रहेको भन्सार कार्यालयले जनाएको छ ।
उनले नेपालले लागु गरेको एक्स्टीम कोड अहिलेसम्म भन्सारबाट ठुला व्यावसायीहरूले लिएको भए पनि साना व्यापारीले अझैं नलिएको बताए । उनले अहिले चाडपर्वको समयमा कस्मेटिक, तयारी कपडा लगायतका सामग्रीको आयात बढ्नु पर्नेमा नबढेको बताए । ‘तर बजारमा यी सामग्री छ्याप्छ्याप्ती पाइराखेका छन्’ उनले भने– यसको सोझो अर्थ भन्सार छलेर यस्ता सामग्री भित्रिरहेका छन् भन्ने नै हो ।
कैलाली भन्सार कार्यालयले भन्सार छलीलाई नियन्त्रण गर्न धेरै प्रयास गरेको भए पनि प्रहरी प्रशासनसंग समन्वयको अभाव रहेका कारण प्रभावकारी हुननसकेको स्रोतको दाबी छ ।
कैलाली भन्सार कार्यालय नजिक नेपाल प्रहरी र सशस्त्र प्रहरीका इकाईहरू रहेका छन् । तर, तस्करहरूले चोरी नाकाबाट सामान भित्रिने गरेको छ ।
प्रहरीकै मिलेमतोमा व्यापारीहरूले अवैध रूपमा सामान भित्राउने गरेको बताइन्छ । ‘त्रिनगर प्रहरी चौकी, सशस्त्र प्रहरी चौकी, वडा प्रहरी कार्यालय लगायतका प्रहरी कार्यालयबाट नियमित रूपमा गस्ती भइरहेको हुन्छ’ नाम नछाप्ने सर्तमा एकजना व्यापारीले भने– तर, प्रहरीले कहिलेकाही सामान बरामद गर्छ, व्यक्ति त एक जना पनि पक्राउ परेका छैनन् ।
कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा संयूक्त गस्तीका क्रममा झण्डै ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको भन्सार कार्यालयले जनाएको छ ।
कैलाली भन्सार कार्यालयलाई चालू आर्थिक वर्ष २०७४/०७५ मा तीन अर्ब ८७ करोड ९९ लाख ४३ हजार रुपैयााको लक्ष्य दिइएको छ । गत आर्थिक वर्ष कैलाली भन्सार कार्यालय कैलालीलाई दुई अर्ब आठ करोड ९१ लाख ६० हजार रुपैयाँ राजश्व संकलन लक्ष्य दिइएको थियो ।

भदाै ११ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार