२२ बैशाख २०८१, शनिबार

सौर्य एअरलाइन्स पनि धनगढी आउने



धनगढी । नेपालको आन्तरिक हवाई यातायातमा पहिलोपल्ट जेट जहाज सेवा भित्राएको सौर्य एयरलाइन्सले काठमाडौं–धनगढी रुटमा पनि सेवा विस्तार गर्ने भएको छ । सौर्यले भदौ १६ गते काठमाडौं–धनगढी रुटमा पनि सेवा विस्तार गर्ने भएको हो ।
सौर्य एयर भदौ १६ गतेबाट हरेक दिन दिउँसो १२:१५ बजे काठमाडौंबाट र १३:२५ बजे धनगढीबाट काठमाडौंका लागि उडान भर्ने सौर्य एयरलाइन्स प्रालिका अध्यक्ष दीपक पोखरेलले बताए ।
सौर्य एयरको सेवा सञ्चालनपछि काठमाडौं–धनगढीको उडान समय बढीमा ५० मिनेटको हुने बताइएको छ । अहिले अरु एअरलाइन्सको उडान समय ७५ मिनेटसम्मको हुने गरेको छ । काठमाडौंबाट नेपालगञ्ज उडानमा अरु जहाजले ६५ मिनेट समय लगाइरहेकोमा सौर्य एयरको उडान समय ३५ मिनेट रहेको छ ।
दुई वर्षदेखि ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित ‘सीआरजे २०० जेट जहाज’ सञ्चालन गर्दै आएको छ । यसअघि एउटै मात्र जहाज रहेको सौर्यको हालै अर्को जहाज आएपछि धनगढीमा समेत सेवा विस्तार हुने भएको हो ।
सो एयरलाइन्सले हाल काठमाडौंदेखि नेपालगञ्ज, विराटनगर,भद्रपुर र भैरहवासम्म हवाई सेवा सञ्चालन गरिरहेको छ । धनगढीमा सौर्यसंगै अब दैनिक चारवटा उडान हुने भएका छन् । धनगढीमा वुद्धले दैनिक दुई, नेपाल एअरलाइन्स र श्री एअरलाइन्सले एक र एक उडान भर्दै आएका छन् । सौर्यले अरु एअरलाइन्सको तुलनामा शुरुवाती भाडादर बढी कायम गरेको छ । सौर्यका मुकेश खनालका अनुसार सौर्यले शुरुवाती भाडादर ५,५०० राखेको छ भने वुद्ध र श्रीले ४,९०० राखेका छन् । यस्तै, नेपाल एअरलाइन्सले ५,००० राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार