४ जेष्ठ २०८१, शुक्रबार

सार्वजनिक अपराधका घटनामा बृद्धि



धनगढी । कैलालीमा पछिल्ला केही वर्षयता सार्वजनिक अपराधका घटनामा बृद्धि भएका छन् । प्रहरीले सामाजिक मर्यादा विपरित कसुर गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन थालेपछि यस्ता घटनाको संख्यामा उल्लेख्य बृद्धि आएको छ ।
कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा विभिन्न अपराधमा ६ सय ४८ मुद्दा दायर भएकोमा सार्वजनिक अपराधसम्बन्धी मुद्दा एक सय ४८ वटा रहेका थिए ।
‘सामाजिक मर्यादा विपरीत कसुर गर्नेलाई पक्रेर सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएकाले संख्या बढेको हो’ जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरीले भने– ‘यसले सार्वजनिक अपराधका घटनामा नियन्त्रण हुने अपेक्षा गरेका छौं ।’
उता कैलालीमा आत्महत्याका घटनामा कमी आउन सकेको छैन । कैलालीमा गत आर्थिक वर्षको अवधिमा आत्महत्याका एक सय ६५ घटना भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी छ । कैलालीमा आर्थिक वर्ष २०७३/७४ मा एक सय १६ जनाले भुण्डिएर आत्महत्या गरेका थिए ।
एसपी चन्दले आर्थिक संकट, नैराश्यता र पारिवारिक तनाव, कुलत लगायतका कारणले आत्महत्याका घटनामा बृद्धि आएको हुनसक्ने बताए । ‘आत्महत्या गर्नेमा एकल महिला र बालबालिका पनि देखिएका छन्’ उनले भने– ‘त्यसैले परिवार सुरक्षा युनिट (एफएसयु) बनाएर सचेतना कार्यक्रम सञ्चालन गर्न जरुरी भएको छ ।’
एसपी चन्दले कैलालीमा पछिल्लो केही वर्षयता ज्यानसम्बन्धी अपराधभन्दा आत्महत्याका घटना दोब्बर हुने गरेको पाइएको बताए ।
जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ज्यानसम्बन्धी अपराधका ६६ वटा मुद्दा दर्ता भएका थिए ।
त्यस्तै, कैलालीमा मानव बेचबिखन तथा लागूऔषध सम्बन्धी अपराधका घटनामा पनि बृद्धि आएको छ । गत आर्थिक वर्षमा कैलालीमा लागूऔषध सम्बन्धी ३६ वटा मुद्दा दर्ता भएका थिए ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीले बलात्कारसम्बन्धी ३९ वटा मुद्दा चलाएको थियो ।
कैलालीमा आर्थिक वर्ष २०७३/७४ मा सवारी दुर्घटनाका ६७ मुद्दा दर्ता भएका थिए । तीमध्ये सवारी ज्यानका ६२ र सवारी भवितव्य ज्यानका ५ वटा मुद्दा रहेका छन् ।
गत आर्थिक वर्षमा चोरीका २२ वटा मुद्दा दर्ता भएका थिए ।
कैलालीमा अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा विभिन्न अपराधका चार सय दुई मुद्दा दर्ता भएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा तीन सय ६९ र २०७०/७१ मा तीन सय ७१ मुद्दा दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार