२२ बैशाख २०८१, शनिबार

गौरीफन्टालाई अन्तर्राष्ट्रिय सीमानाका बनाउन प्रधानमन्त्रीलाई ज्ञापन



काठमाडौं । प्रदेश नम्बर ७ को भारतसँग जोडिएको प्रमुख व्यापारिक नाका गौरीफन्टालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन ठोस पहलका लागि पुन: आग्रह गरिएको छ ।
धनगढी उपमहानगरपालिकाका निर्वाचित जनप्रतिनिधि तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसहितको एक संयुक्त प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय स्तरको व्यापारिक नाकाका रूपमा स्तरोन्नती गर्न आवश्यक कुटनीतिक पहलका लागि आग्रह गरेको छ ।
प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणका वेला द्विपक्षीय वार्तामा गौरीफन्टालाई अन्तर्राष्ट्रिय स्तरको व्यापारिक नाका बनाउने एजेण्डालाई प्राथमिकतामा राख्न आग्रह गरिएको जनाइएको छ । प्रधानमन्त्री देउवा आगामी भदौ ७ गते भारतको औपचारिक भ्रमण जाने कार्यक्रम रहेको छ ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीका अनुसार प्रधानमन्त्री देउवाले सो एजेण्डालाई प्राथमिकतामा राख्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।
प्रतिनिधिमण्डलमा उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, कैलाली उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरू सहभागी थिए ।
प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाइएपछि शनिबार नै राजधानीमा गरिएको पत्रकार सम्मेलनमा प्रदेश नम्बर ७ स्तरीय उद्योग वाणिज्य संघका समेत अध्यक्ष रहेका बोगटीले ज्ञापनपत्रमा उल्लिखित एजेण्डाहरू कार्यान्वयन भएमा समग्र प्रदेशको आर्थिक समृद्धि तीब्र हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष बोगटीले सुदूरपश्चिमको आर्थिक विकासका लागि संघले लामो समयदेखि केन्द्रीय सरकारमाथि आवश्यक दबाव दिँदै आएको बताए ।
संयुक्त प्रतिनिधिमण्डलले प्रस्तुत गरेको ज्ञापनपत्रमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको उनले बताए । ‘आसन्न भारत भ्रमणका बेला गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय स्तरको व्यापारिक नाका बनाउने मुद्दाले ठोस आकार ग्रहण गर्ने हामीले विश्वास गरेका छौं’ पत्रकार सम्मेलनमा उनले भने– ‘हाम्रा मागप्रति प्रधानमन्त्री निकै सकारात्मक हुनुहुन्छ ।’
त्यस्तै, जनप्रतिनिधि तथा उद्योग वाणिज्य संघको संयुक्त प्रतिनिधिमण्डलले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्न्ती गर्ने कार्य छिटो अघि बढाउन पनि माग दोहोर्‍याएको छ ।
त्यस्तै, प्रदेश नम्बर ७ लाई चीनसंग जोड्ने बझाङको ताक्लाकोट सीमानाकालाई स्तरोन्नती गरी सञ्चालनमा ल्याउन पनि माग गरिएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाको राजघाटस्थित २१ विघा जमिनमा सार्वजनिक प्रदर्शनीस्थल बनाउन पनि प्रधानमन्त्री देउवाको ध्यानकर्षण गराइएको छ ।
पत्रकार सम्मेलनमा धनगढी उपमहानगरपालिका प्रमुख वडले सुदूरपश्चिमको आर्थिक समृद्धिका लागि प्रमुख मेरुदण्डका रूपमा रहेको गौरीफन्टा व्यापारिक नाकाको स्तरोन्नती अनिवार्य रहेको बताए ।
उपमहानगर प्रमुख वडले धनगढीमा निर्माण हुने प्रदर्शनीस्थल वाणिज्य मन्त्रालय, धनगढी उपमहानगरपालिका, कैलाली जिल्ला समन्वय समिति र कैलाली उद्योग वाणिज्य संघसहित सार्वजनिक–निजी साझेदारी मोडलमा सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
पत्रकार सम्मेलनमा धनगढी उपमहानगर उपप्रमुख मिश्र भट्टले गौरीफण्टा व्यापारिक नाकाको स्तरोन्नतीसहित अन्तर्राष्ट्रिय स्तरको नाका बनाउन सकिएमा भारतका विभिन्न शहरबाट बर्सेनि लाखौं धार्मिक पर्यटक नेपाल आउने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार