५ जेष्ठ २०८१, शनिबार

वित्तीय ज्ञान सिक्दै महिला



टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का मञ्जु परियार अहिले घरको खर्च कसरी व्यवस्थापन गर्ने र बेफुजल खर्च कसरी घटाउने ? भन्ने ज्ञानसीप सिक्दै छिन् । साताको एक दिन गाउँमा सञ्चालन हुने सुनौलो बिहानी साक्षरता कक्षामार्फत उनी घरपरिवारको वित्तीय व्यवस्थापनबारे ज्ञानसीप लिइरहेकी छिन् ।

टीकापुर–४ मा सञ्चालित वित्तीय साक्षरता कक्षा । तस्बिर: प्रकाश सिंह

मञ्जुका श्रीमान रमेश वैदेशिक रोजगारमा रहेका छन् । मञ्जुले श्रीमानले विदेशबाट कमाएर पठाएको रकमको व्यवस्थापन गर्ने र दैनिक आयव्ययको व्यवस्थित ढंगले हरहिसाब राख्ने अभ्यास शुरु गरेकी छिन् । उनले तीन महिनादेखि लेखा प्रणालीमार्फत हरहिसाब राख्ने गरेकी छिन् ।
उनी झैं टीकापुर नगरपालिका वडा नम्बर ४ का रेखा शाहले पनि आफ्नो आम्दानी र खर्चको हरहिसाब लेखा प्रणालीमार्फत राख्ने गरेकी छिन् । रेखाका श्रीमान मंगल शाह कतारमा रोजगारी गरिरहेका छन् । केही सातासम्म वित्तीय साक्षरता कक्षामा सहभागी बनेपछि रेखाले पैसाको सदुपयोग, फजुल खर्च कम गर्ने तथा व्यावसायिक योजना बनाउने बारे जानकार हुँदै गएकी छिन् ।
टीकापुर–४ का राधिका बोहरा अहिले छोराछोरीलाई मात्रै नभएर छिमेकीलाई पनि ‘जंकफुड’ (चाउचाउ, आदि) खान नहुने सल्लाह दिइरहेकी हुन्छिन् । यस्ता खानाले स्वास्थ्यमा नराम्रो असर पर्ने थाहा पाएपछि राधिकाले घरमा ल्याउन छोडेकी छिन् । उनका श्रीमान पनि वैदेशिक रोजगारमा छन् । श्रीमानले मासिक रूपमा पठाउने रकम जोगाउनेभन्दा पनि अनावश्यक उपभोगमा सिध्याउने गरिएकोमा उनी अहिले सचेत बनेकी छिन् । गाउँमा वित्तीय साक्षरता कक्षा सञ्चालन भएपछि उनी अहिले घरपरिवारको खर्च व्यवस्थापनमा जुटेकी छिन् ।
कैलालीका विभिन्न ग्रामीण वस्तीमा केही महिनादेखि वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेका छन् । वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवार सदस्यलाई लक्षित गरेर सञ्चालन गरिएका यी कक्षा एक ठाउँमा २८ हप्तासम्म सञ्चालन हुने गरेका छन् ।
सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत सञ्चार प्रतिष्ठान नेपाल, कैलालीद्वारा सञ्चालित विद्यालय तथा आमसञ्चार कार्यक्रममार्फत वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको जनाइएको छ ।
संस्थाका लम्कीमा कार्यरत वित्तीय साक्षरता सहजकर्ता आशा रावल कक्षामा सहभागी भएपछि धेरैले घरखर्च व्यवस्थापन, लेखाप्रणाली मार्फत दैनिक आम्दानी र खर्चको हरहिसाब राख्नुका साथै फजुल खर्च कम गरिरहेको बताइन् ।
कैलालीका घोडाघोडी, अत्तरिया, टीकापुर र लम्कीचुहा नगरपालिका तथा धनगढी उपमहानगरपालिकामा वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको सञ्चार प्रतिष्ठान नेपाल, कैलालीका कार्यक्रम संयोजक एकिन्द्र तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार