४ जेष्ठ २०८१, शुक्रबार

सूर्तीले उडाइँदैछ जहाज, सुरुमा उडे ३ सय यात्रु



जहाज हवाई इन्धनबाट उड्छ । सौर्य ऊर्जाबाट चल्ने जहाजको बारेमा पनि गत वर्ष खुबै चर्चा भयो । तर, अहिले चाहिँ सूर्तीबाट उड्ने जहाजको चर्चा छ ।
हो, विश्वमा पहिलो पटक सूर्तीबाट जहाज उडाइँदै छ । वास्तवमा सूर्तीको काँचो पातबाट तयार पारिने बायोडिजेलको सहायताले हवाई जहाजको व्यावसायिक उडान भरिँदै छ ।
यो मामिलामा सबैभन्दा अगाडि छ दक्षिण अफ्रिकी एयरवेज । सो एयरवेजले गत वर्ष जुलाईमा परीक्षण उडानको रुपमा तीन सय यात्रु बोकेको एक जेट विमानलाई जोहानेसबर्गबाट केपटाउनसम्म १२८० किलोमिटर उडाएको थियो । उक्त विमानमा तीन सय यात्रु थिए भने विमानमा सूर्तीको बायोडिजेल प्रयोग गरिएको थियो ।
त्यहाँ सूर्तीको सोलरिस प्रजातिको विरुवाबाट बायोडिजेल उत्पादन गर्ने गरिएको छ । यो प्रजातिमा निकोटिनको मात्रा निकै कम हुन्छ । साउथ अफ्रिकन एयरलाइन्सले यहीँ वर्षबाट टोब्याको बायोफ्यूलको प्रयोग गर्न सुरु गर्नेवाला छ । सुरुवातमा चाहिँ हवाई इन्धनमै बायोडिजेलको केही हिस्सा मिलाएर प्रयोग गरिनेछ । विस्तारै हवाई इन्धनको मात्रा कम गरी बायोडिजेलको मात्रा बढाइनेछ ।
स्मरण रहोस्, विमान कम्पनीले इन्धनमै सबैभन्दा धेरै खर्च गर्नुपर्ने हुन्छ । कम्पनीको कुल सञ्चालन खर्चको एक तिहाइ इन्धनमै हुन्छ । बायोडिजेल अहिले पनि महंगो नै छ तर यसको ठूलो परिमाणमा उत्पादन भएमा लागत कम हुनेछ । यो पर्यावरणका लागि लाभकारी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार