१६ चैत्र २०८०, शुक्रबार

विपद् उत्थानशिलताका लागि ज्येष्ठ नागरिक मेला



धनगढी । कैलालीको उर्मामा उत्थानशिलताका लागि ज्येष्ठ नागरिक मेला भएको छ । फाया नेपाल र जेष्ठ नागरिक समूह उर्माको आयोजना तथा महिला तथा बालबालिका कार्यालय कैलाली र हेल्प एज अन्तर्राष्ट्रिय नेपालको सहयोगमा ज्येष्ठ नागरिक मेला गरिएको हो ।
ज्येष्ठ नागरिकको सहभागितासहितको विपद् उत्थानशील समुदाय निर्माणमा सहजिकरण, उनीहरूसँग रहेको ज्ञान, सीप तथा अनुभवहरूको प्रचार गर्दै ज्येष्ठ नागरिकप्रतिको आदरभाव र सम्मानलाई अभिबृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरेको मेलामा धनगढी जेसीज, नेपाल नेत्रज्योति सङ्घ, लाइन्स क्लब तथा नेपाल औषधी व्यवसायी सङ्घको सहकार्य रहेको थियो ।
विपद्को दृष्टिले जोखिममा रहेको क्षेत्र भएकाले विपद्का बेला सबैभन्दा बढी प्रभावित हुने ज्येष्ठ नागरिकलाई विपद् व्यवस्थापनका सवालहरूको विषयमा जनजागरण चलाउने उद्देश्यले मेला आयोजना गरिएको फाया नेपालका निर्देशक धर्मराज पाठकले जानकारी दिए । विपद् व्यवस्थापनका हरेक चरणहरूमा ज्येष्ठ नागरिकको सहभागिता सुनिश्चित नभएसम्म विपद् उत्थानशील समुदाय निर्माण गर्न नसकिने उनको भनाई छ ।
मेलामा समुदायलाई विपद् उत्थानशील बनाउन ज्येष्ठ नागरिकमैत्री विपद् व्यवस्थापनका विधिहरूको प्रदर्शनी, जेष्ठ नागरिकका लागि विशेषज्ञ डाक्टरहरूबाट स्वास्थ्य परीक्षण, जेष्ठ नागरिकबाट गर्न सकिने सीपमूलक जिवीकोपार्जनका गतिविधिहरूको प्रदर्शनी, जेष्ठ नागरिकको सहभागिताका विषयमा सडक नाटक प्रदर्शनी, स्थानीय सांस्कृतिक झााकीहरूको प्रदर्शनी तथा जेष्ठ नागरिक तथा सरोकारवालाहरूबीच अन्तक्र्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले उर्मामा पहिलो पटक गरिएको ज्येष्ठ नागरिक मेलाले समाजमा ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले मेलाले ज्येष्ठ नागरिकप्रति समाजमा सकारात्मक सोचको विकास गरेको भन्दै यस्ता मेला फेरि पनि हुनुपर्ने सुझाव दिए । कार्यक्रममा पाँच सय जनाले नि:शुल्क स्वास्थ्य परीक्षण, आँखा जाँच गराएको जेसिआई पिआरका विनोद थापाले जानकारी दिए ।
सन् २०११ को राष्ट्रिय जनगणना अनुसार नेपालमा ज्येष्ठ नागरिकको कुल जनसङ्ख्या २१ लाख ५४ हजार ४ सय १० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार