१५ चैत्र २०८०, बिहीबार

चैते धान प्रवद्र्धन कार्यक्रममा किसानको सहभागिता न्यून



धनगढी । जिल्लामा धान उत्पादनमा बृद्धि ल्याउन सञ्चालन गरिएको चैतेधान खेती कार्यक्रममा किसानहरूले सहभागिता न्यून रहेको छ । जिल्ला कृषि विकास कार्यालय कैलालीले गत वर्षदेखि यस कार्यक्रममा अनुदान दिँदै आएको छ ।
गत वर्ष कार्यालयले नौ सय हेक्टरमा चैतेधान खेती गर्ने लक्ष्य निर्धारण गरेकोमा एक सय ४७ हेक्टरमा मात्रै खेती भएपछि यस वर्ष लक्ष्य ह्वात्तै घटाएर तीन सय हेक्टरमा चैतेधान खेती गर्ने लक्ष्य निर्धारण गरेको छ । तर यस वर्ष पनि दुई सय ३० हेक्टरमा मात्रै खेती गर्न आवेदन परेको छ ।
एक हेक्टरमा चैते धान खेती गर्दा पाँच हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ । कृषि प्राविधिक कमल चौधरीले यस वर्ष कैलालीमा इरी नामक अन्तर्राष्ट्रिय संस्थाले १० मेट्रिक टन वीऊ उपलब्ध गराउने बताए ।
कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत गौरीशंकर गुप्ताले विभिन्न कारणले लक्ष्य अनुरूप चैते धान खेती गर्न नसकिएपछि यस पटक लक्ष्य घटाइएको बताए । ‘यस पटक तीन सय हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्ने लक्ष्य निर्धारण गरिएको छ’ उनले भने— ‘तर, पनि यस वर्ष दुई सय ३० हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्न भनेर आवेदन आएको छ ।’ उनले आवेदन मिति सकिएको भए पनि किसानहरूले सहभागिता जनाउन चाहेमा पुन: आवेदन लिन सकिने बताए ।
चैतेधान खेतीका लागि किसानहरूले एक हेक्टरदेखि चार हेक्टरसम्ममा खेती गर्न निवेदन पेश गरेका छन् । बढी पानी जम्ने (खल्ला), नहर क्षेत्र, तथा डुवान हुने क्षेत्रमा चैतेधान बढी उत्पादन हुने गरेको कृषि प्राविधिकहरू बताउँछन् । गत वर्षदेखि विस्तृत रूपबाट चैते धान खेती गर्ने लक्ष्य अनुरूप स्थानीय स्तरमै कृषकहरूलाई प्रशिक्षक तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिएको कृषि प्रसार अधिकृत गुप्ताले बताए ।
कैलालीको थापापुर, जोशीपुर, भजनी, लालबोझी लगायतको क्षेत्र चैतेधान खेतीका लागि उपयुक्त भएको उनले बताए । उनले आवेदन पनि सोही स्थानबाट बढी आएको बताए । कार्यालयका अनुसार अधिकांस किसानसँग पर्याप्त जग्गा नभएको र जग्गाधनीहरूले अनुदानका लागि कागजपत्र नदिने आदि कारणले लक्ष्य अनुरूप काम हुन नसकेको कृषि प्राविधिक चौधरीले बताए । उनले भजनी क्षेत्रका ७२ जना कृषकले अनुदानका लागि निवेदन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार