१२ श्रावण २०८१, शनिबार

अपडेट: संक्रान्ति बजार आगलागीमा २१ घर जले, आगो अझै नियन्त्रण भएन



पुस १, २०७३- तेह्रथुमको संक्रान्ति बजारमा भएको आगलागीमा अहिलेसम्म २१ वटा घर जलेर खरानी भएका छन् ।

अपरान्ह १२ वजेबाट सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । स्थानीय अग्नि सेडाईंको घरबाट सुरु भएको आगलागीमा परी बद्रि सेढाई, दिपेश सिटौला, अमृत गहतराज, सूर्य गुरुङ, नारायणी गुरुङ, खड्ग आले, पूर्णबहादुर आले, बुद्धि गुरुङ, हिमलाल थापा, इन्द्र गौतम लगायतका २१ घर जलेर खरानी भएको स्थानीय अमृत बास्तोलाले बताए ।

हिमलाल थापा, सुभद्रा बानियाँ, होम सिटौला, सुभद्रा बानियाँ, होम सिटौला, इन्द्र गौतम, सानुकुमार चोङवाङ, दिपेश प्रसाईं, खड्गबहादुर पयाङ्गु, जयन्द्र तामाङ, लिलादेवी श्रेष्ठ, रमेश सिटौला, कविता लिम्बू, रेवती भट्टराई, रत्नबहादुर गहतराज लगायतका घर जलेका छन् ।

हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि भर्खरै पाँचथरको फिदिमबाट दमकल आइपुगेको स्थानीय श्री पाठकले बताए । अहिले दमकल, स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । वजारका अन्य घरमा आगो सल्किन नदिन डोजर लगाएर घर भत्काउने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताए । बजार क्षेत्रको सडक साँघुरो भएकाले डोजर र दमकल छिराउन समस्या भएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा नआउँदै अहिले आकस्मिक रुपमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । सवै प्रकारका संयन्त्र प्रयोग गरेर भए पनि आगो नियन्त्रणमा लिने र पीडितलाई जतिसक्दो चाँडो कसरी राहत पुर्‍याउने भन्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन् ।

आगलागी भइरहेको संक्रान्ति बजार सदरमुकाम म्याङलुङबाट एक दिनको पैदल दुरीमा पर्छ । आगलागीको कारण खुल्न सकेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार