१९ कार्तिक २०८३, बुधबार

कैलाली कांग्रेसमा कुर्सीको लडाइँ, भट्ट र बडूवाल आमनेसामने



धनगढी/ नेपाली कांग्रेस कैलालीको नेतृत्व विवादले नयाँ रूप लिएको छ। कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी पाएका भीम बडूवाल जिल्ला पार्टी कार्यालय पुगेर सभापतिको कुर्सीमा बसेपछि निवर्तमान हुन नचाहेका सभापति नारायणदत्त भट्ट र बडूवाल पक्षबीच विवाद चुलिएको हो।

पार्टीभित्रको विवाद अब नेतृत्वको वैधानिकतासँगै सभापतिको कुर्सी कसले प्रयोग गर्ने भन्ने विषयसम्म पुगेको छ। मंगलबार बडूवाल पार्टी कार्यालय पुगेर जिल्ला सचिव, क्षेत्रीय सभापति, नगर सभापति तथा प्रदेश निर्वाचन क्षेत्रका सभापतिहरूसँग छलफल गरेका थिए। त्यही क्रममा उनी जिल्ला सभापतिको कुर्सीमा बसेपछि भट्ट पक्षले त्यसलाई चुनौतीका रूपमा लिएको छ।

गत असोजमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले जिल्ला उपसभापति बडूवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्दै पत्र पठाएका थिए। जिल्लादेखि प्रदेश तहसम्मका अधिवेशन सम्पन्न गराउने जिम्मेवारीसहित उनलाई कार्यवाहक बनाइएको पत्रमा उल्लेख थियो। तर, जिल्ला र प्रदेश अधिवेशन अझै हुन सकेका छैनन्।

कांग्रेसको १४औँ महाधिवेशनबाट भट्ट जिल्ला सभापति निर्वाचित भएका थिए। विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि भट्टले नयाँ नेतृत्वलाई स्वीकार गरेनन् र शेरबहादुर देउवा पक्षमै रहे। १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउनसमेत उनी तयार नभएपछि बडूवाललाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो।

तर, भट्टलाई सभापति पदबाट औपचारिक रूपमा हटाइएको छैन। यही विषयलाई लिएर उनले बडूवालको कदमको विरोध गरेका छन्।

भट्टले आफ्नो नामप्लेट हटाएर सभापतिको कुर्सीमा बस्नु पार्टीको विधि र विधानविपरीत भएको दाबी गरेका छन्। आफूलाई कुनै आधिकारिक निर्णयबाट पदमुक्त नगरिएको भन्दै उनले बडूवाल समूहको गतिविधिलाई अराजकताको संज्ञा दिएका छन्।

कार्यवाहक सभापतिले सभापतिको कुर्सी प्रयोग गर्नु अनैतिक भएको उनको जिकिर छ। आफूले गगन थापालाई सभापतिबाट हटाउन पटकपटक आग्रह गरे पनि त्यसबारे औपचारिक निर्णय नभएको भट्टको भनाइ छ। उनले यस घटनाको सामाजिक र कानुनी रूपमा प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन्।

महामन्त्री पौडेलले एउटै मितिमा फरकफरक व्यहोराका तीनवटा पत्र जारी गरेको भन्दै भट्टले कार्यवाहक नियुक्तिको प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्। एउटा पत्रमा अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी उल्लेख भए पनि अन्य दुई पत्रमा कार्यवाहक तोक्नुको कारण स्पष्ट नभएको उनको दाबी छ।

यता बडूवालले भने भट्टले नैतिकताका आधारमा यसअघि नै पद छाड्नुपर्ने बताउँदै आएका छन्। सभापतिको कुर्सी कुनै व्यक्तिको निजी सम्पत्ति नभई पार्टीको साझा सम्पत्ति भएको उनको तर्क छ।

‘कुर्सी कुनै व्यक्ति विशेषको नभई नेपाली कांग्रेसको हुन्छ,’ बडूवालले भने, ‘विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिलाई अवज्ञा गर्दै आएको मान्छेले कसरी सभापति बन्न पाउँछ?’

कैलाली कांग्रेसमा नेतृत्वको विवाद बढ्दै जाँदा देउवा पक्षले वडा तहबाटै छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाएको छ। यसले जिल्लामा पार्टीको संस्थापन पक्ष र विशेष महाधिवेशनबाट बनेको नेतृत्वबीचको शक्ति संघर्ष थप पेचिलो बन्ने संकेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार