प्रहरी महानिरीक्षकमा डा. केसी नियुक्त, कार्की विशेष सुरक्षा सल्लाहकार
काठमाडौं / सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका केसीलाई प्रहरीको सर्वोच्च पदमा बढुवा गर्ने निर्णय गरेको हो।
यसअघि प्रहरी महानिरीक्षक रहेका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। सरकारले प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा आवश्यक सल्लाह, सुझाव र परामर्श दिन प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई सो जिम्मेवारीमा खटाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार मुलुकको वर्तमान परिस्थितिमा शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको हो।
कार्कीलाई उक्त पदमा खटाएपछि रिक्त भएको प्रहरी महानिरीक्षकमा एआईजी डा. केसीलाई बढुवा गरिएको सरकारको निर्णयमा उल्लेख छ।
प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम केसीलाई कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरिएको हो।
सरकारको यो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व डा। केसीको हातमा पुगेको छ भने निवर्तमान महानिरीक्षक कार्कीले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्।
डेढ वर्ष कार्यकाल रहँदै कार्की हटाइएकोमा सर्वत्र विरोध गरिएको छ ।




