३० आश्विन २०८३, शुक्रबार

लोकप्रिय मतसहित अधिकारी कांग्रेस केन्द्रीय सदस्यमा विजयी




काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत समावेशी केन्द्रीय सदस्य पदमा बिनिता अधिकारी लोकप्रिय मतसहित विजयी भएकी छन्। खुला महिला कोटातर्फ प्रतिस्पर्धा गरेकी अधिकारीले दुई हजार ६६३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्।

मतगणनाको अन्तिम परिणामअनुसार अधिकारीले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएकी हुन्। पार्टीभित्र महिला सहभागिता, समावेशी नेतृत्व र सामाजिक न्यायका सवालमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी अधिकारीको विजयलाई महिला सशक्तीकरणको उपलब्धिका रूपमा हेरिएको छ।

विजयपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले आफ्नो जित व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई महिला तथा समावेशी राजनीतिमा विश्वास गर्ने सबैको जित भएको बताइन्।

उनले भनिन्, “यो जित व्यक्तिको मात्र नभई समग्र महिला र समावेशी राजनीतिको जित हो। अब हामी नीति निर्माण तहमा महिला, युवा तथा सीमान्तकृत समुदायको आवाज अझ सशक्त रूपमा उठाउनेछौँ।”

कांग्रेस महाधिवेशनमा महिला नेतृत्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले पार्टीको संगठन सुदृढीकरण र ग्रामीण तहसम्म संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने बताइन्। शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तीकरणका क्षेत्रमा महिलाको सहभागिता बढाउने योजनासमेत उनले अघि सारेकी छन्।

सामाजिक कार्य र संगठन निर्माणमा सक्रिय रहँदै आएकी अधिकारी यसअघि पनि विभिन्न महिला अधिकार तथा सामाजिक न्यायसम्बन्धी अभियानमा संलग्न थिइन्। उनको विजयलाई नेपाली कांग्रेसभित्र नयाँ पुस्ताको महिला नेतृत्व विकास र समावेशी राजनीतिक अभ्यासलाई थप बलियो बनाउने अवसरका रूपमा समेत हेरिएको छ।


अधिकारीले पार्टीभित्र महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न तथा नीति निर्माणमा महिला, युवा र सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार