१३ आश्विन २०८३, मंगलबार

लू निभाको २९ औँ वार्षिक साधारण सभा, कार्यक्षेत्र विस्तार गर्न सुझाव



ललितपुर/ लू निभा बाल सरोकार समूहको २९औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण मंगलबार भएको छ। कार्यक्रममा लू निभाले शिक्षा, बालअधिकार, बालश्रम उन्मूलन, संरक्षण तथा नेतृत्व विकासका क्षेत्रमा गर्दै आएका कामबारे सरोकारवालाले चर्चा गरेका थिए।

डडेल्धुराबाट भर्चुअल माध्यममार्फत कार्यक्रममा बोल्दै भागेश्वर गाउँपालिकाको महिला, ज्येष्ठ नागरिक तथा बालकल्याण शाखाकी प्रमुख कल्पना थापाले शिक्षक, बालबालिका, जनप्रतिनिधि तथा अपाङ्गता भएका व्यक्तिको नेतृत्व विकास, गुणस्तरीय शिक्षा र बालश्रम उन्मूलनका क्षेत्रमा लू निभाले राम्रो काम गरेको बताइन्।

डडेल्धुरामा लू निभाको सहयोगमा शिक्षा तथा संरक्षणसम्बन्धी रेडियो कार्यक्रम सञ्चालन गरिरहेका प्रकाश पार्कीले रेडियो कार्यक्रमले बालबालिकालाई आफ्ना अधिकारबारे जान्न र बुझ्न सहज भएको बताए।

त्यस्तै, ललितपुर महानगरपालिकाकी बालकल्याण अधिकृत सरिता महर्जनले लू निभाका गतिविधिले बालबालिकालाई सहयोग पुगेको बताइन्। गोदावरी नगरपालिकाका सुमल मगरातीले छात्रवृत्ति वितरण गर्दा लक्षित वर्गलाई सहज रूपमा समेट्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताए।

गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय उपमहासचिव किरण थापाको नेतृत्वमा भएको सामाजिक परीक्षणमा अधिकांश सहभागीले लू निभाले आफ्नो कार्यक्षेत्र विस्तार गर्नुपर्ने सुझाव दिएका थिए।

अधिकारकर्मी श्रीराम बजगाईंले काठमाडौं उपत्यकाको भित्री क्षेत्रबाट काम गर्दै आएको लू निभाले बालअधिकार र सामाजिक क्षेत्रमा राम्रो काम गरेको बताए। उनले आवश्यकताअनुसार कार्यक्षेत्र विस्तार गर्न जरुरी रहेको बताए।

गोदावरी नगरपालिकाका गौरव केसीले पनि लू निभाले आफ्नो कार्यक्षेत्र विस्तार गरेर अवसरबाट वञ्चित बालबालिका तथा समुदायलाई अवसर दिनुपर्ने बताए।

यसैगरी, डडेल्धुराको भागेश्वर गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयकी छात्रा अस्मिता भण्डारी र गोदावरीको छम्पीदेवी माध्यमिक विद्यालयकी छात्रा लक्ष्मी केसीले लू निभाले आफूहरूलाई अभिभावकको भूमिकामा सहयोग गरिरहेको बताए।

कार्यक्रममा लू निभाका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले सामाजिक परीक्षणका क्रममा उठेका सुझाव र गुनासालाई संस्थाले सकारात्मक रूपमा स्वीकार गर्ने बताए।

लू निभाका अध्यक्ष डा. रुपा मुनाकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा समाज कल्याण परिषद्का सदस्यसचिव चक्र बुढा, कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई, राष्ट्रिय कार्य तथा समन्वय समूह नेपालकी ऋतु भट्ट राई तथा लू निभाका सल्लाहकार स्वयम्भूराज डंगोललगायतले धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार