पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुँदा लोकतन्त्रका लागि लड्न सकिँदैन
काठमाडौ/ नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर रहेको भन्दै त्यसलाई सुधार नगरेसम्म संविधान र लोकतन्त्रको पक्षमा प्रभावकारी रूपमा लड्न नसकिने बताएका छन् ।
एमालेको केन्द्रीय कमिटी मंगलबारको बैठकमा धारणा राख्दै रावलले पार्टीलाई सामूहिक र संस्थागत प्रणालीमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्रको एकता पनि सामूहिक तथा संस्थागत प्रणालीबाट मात्रै कायम हुन सक्ने बताए ।
रावलले संसद् पुनर्स्थापनाको मुद्दा अहिले उपयुक्त नभएको धारणा राखेका छन् । वर्तमान राजनीतिक परिस्थितिमा संसद् पुनर्स्थापनाको माग गर्नु सही नभएको उनको भनाइ थियो ।
उनले पार्टीले गठन गरेको कार्यदलको प्रतिवेदन सबै केन्द्रीय सदस्यलाई उपलब्ध गराउनुपर्ने र त्यसमा आएका सुझावलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग गरे ।
रावलले विगतमा सरकार गठनदेखि सरकार निर्माणका विभिन्न प्रक्रियामा कमल थापा, एकनाथ ढकाललगायतका व्यक्तिहरूलाई प्रयोग गरिएको प्रसङ्ग उठाउँदै त्यसले पार्टीप्रति वितृष्णा पैदा गरेको बताए । पार्टीले विगतका कमजोरीबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो ।
‘हामी सुध्रिएनौँ भने फेरि योभन्दा दुर्दिन टाढा छैन,’ रावलले बैठकमा भनेका थिए ।
उनले पार्टीको महाधिवेशनको मनोविज्ञानले टिकट वितरणमा समेत प्रभाव पारेको उल्लेख गर्दै पार्टीभित्र निर्णय गर्ने प्रक्रिया र उम्मेदवार छनोट प्रणालीमा सुधार आवश्यक रहेको बताए ।
रावलले पार्टीमा व्यक्तिगत प्रभावभन्दा सामूहिक निर्णय, संस्थागत प्रक्रिया र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।




