विपद्को घडीमा अमेरिकी सहयोगप्रति प्रधानमन्त्री साहद्वारा आभार
काठमाडौं/ प्रधानमन्त्री वालेन्द्र साहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन्।
भेटका क्रममा प्रधानमन्त्री साहले पछिल्लो विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद व्यक्त गरे।
प्रधानमन्त्री साहले बाढी तथा विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै पछिल्लो घटनालाई जलवायु परिवर्तनका कारण बढ्दो जोखिमसँग जोडेर हेर्नुपर्ने बताए। जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण र त्यसबाट हुने क्षति कम गर्न अन्तर्राष्ट्रिय सहकार्य तथा सामूहिक प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
भेटमा नेपालको पर्यटन क्षेत्रका सम्भावना र त्यसको विकासमार्फत नेपाल तथा अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने विषयमा समेत छलफल भएको थियो। प्रधानमन्त्री साहले नेपालको पर्यटन क्षेत्रमा अमेरिकी लगानीका लागि सरकार सदैव स्वागत गर्न तयार रहेको बताए।
सो अवसरमा कार्यवाहक अमेरिकी राजदूत बोल्डिनले रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्।
उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताइन्। राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी पनि उनले गराइन्।
भेटवार्तामा विपद् व्यवस्थापन, जलवायु परिवर्तनका असर, पर्यटन विकास तथा नेपाल–अमेरिका सहकार्यका विविध पक्षमा विचार आदानप्रदान भएको थियो।




