२९ भदौ २०८३, सोमबार

देउवा पक्षद्वारा असोज ३ को वडा अधिवेशन बहिष्कार गर्न अपिल



काठमाडौं/ नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर संस्थापन र इतर पक्षबीचको विवाद थप चर्किएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज ३ गतेदेखि सुरु हुने भनिएको वडा अधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरेको छ।

चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसको १५औँ महाधिवेशन तयारी संयोजन समितिका संयोजक डा. शशांक कोइरालाले संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन अपिल गरेका हुन्।

कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले असोज १५ गतेदेखि मात्र महाधिवेशन प्रक्रिया अघि बढाउने दाबी गरे। उनले मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनलाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरे।

उनले पार्टीलाई विधि, विधान र वैधानिकताको बाटोमा अघि बढाउँदै आन्तरिक एकता कायम गर्नुपर्नेमा जोड दिए। कांग्रेसलाई पुनः सशक्त र प्रभावकारी राजनीतिक शक्तिका रूपमा स्थापित गर्न वैधानिक प्रक्रियाको पालना आवश्यक रहेको उनको भनाइ थियो।

यसैबीच, कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको हिजो बसेको बैठकले असोज ३ गते हुने वडा अधिवेशनमा सहभागी हुने नेताहरूलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको थियो। यही निर्णयलाई लिएर कांग्रेसभित्र संस्थापन र इतर पक्षबीचको विवाद थप गहिरिएको देखिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार