बिदाको दिन सरकारी गाडी चलाउँदा राज्यमन्त्रीको सवारीलाई ट्राफिकको जरिवाना
धनगढी / सार्वजनिक बिदाको दिन अनुमति नलिई सरकारी सवारीसाधन सञ्चालन गरेको भन्दै सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने सरकारी गाडीलाई कैलाली ट्राफिक प्रहरीले जरिवाना गरेको छ।
सुप्रप ०१–००१ झ ०३९७ नम्बरको सरकारी गाडी निषेधित समयमा सञ्चालन भएको भेटिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाही गरेको हो। गाडी सञ्चालन हुँदा राज्यमन्त्री कुँवर भने त्यसमा सवार नरहेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अन्तर्गत पहिलोपटक पाँच सय रुपैयाँ जरिवाना गरिएको हो।
सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन सञ्चालन गर्न सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने व्यवस्था भए पनि चालकले अनुमति नलिई गाडी चलाएको प्रहरीको भनाइ छ।
कैलाली ट्राफिक प्रहरीले यसअघि पनि विशिष्ट व्यक्तिसँग सम्बन्धित सवारीसाधनमाथि कारबाही गरेको थियो। सरकारी निवासमै हेल्मेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडिओ सार्वजनिक भएपछि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत ट्राफिक प्रहरीले जरिवाना गरेको थियो। त्यस्तै, लापरबाहीपूर्वक सवारीसाधन चलाएको आरोपमा शीतल गिरीलाई पनि कारबाही गरिएको थियो।




