लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम सुरु
काठमाडौं/ नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउन्डेसनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम सुरु गरेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको तीव्र विकास तथा बजारको मागलाई मध्यनजर गर्दै फाउन्डेसनले यी नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको हो।
एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा, शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरी तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता हासिल गरेपछि ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम सञ्चालनमा आएको फाउन्डेसनका अध्यक्ष इन्जिनियर पंकज जालानले जानकारी दिए। यी कार्यक्रम सञ्चालनका लागि फाउन्डेसनले डीएलए कन्सल्टिङसँग सहकार्य गरेको छ।
नयाँ कार्यक्रमको शुभारम्भ कार्यक्रममा अध्यक्ष जालानले एआई भविष्यको प्रविधि मात्र नभई बैंकिङ, व्यापार, व्यवस्थापन, डाटा विश्लेषण, प्रतिवेदन निर्माण तथा दैनिक कार्यालयका काममा समेत अत्यावश्यक बनिसकेको बताए।
उनले भने, “केही वर्षअघिसम्म मानिसले घण्टौँ लगाएर गर्ने काम अहिले एआईले केही मिनेटमै गर्न थालेको छ। यही परिवर्तनसँगै नेपालमा पनि एआईलाई केवल टुल चलाउने प्रविधिका रूपमा होइन, शिक्षा, व्यवसाय र व्यवस्थापनसँग जोडेर पाठ्यक्रम विकास गरिएको हो।”
अध्यक्ष जालानका अनुसार यस कार्यक्रमको उद्देश्य विद्यार्थीलाई एआई सफ्टवेयर वा टुल बनाउने प्राविधिक ज्ञान मात्र दिनु नभई बजारमा उपलब्ध एआई टुललाई वास्तविक जीवन र व्यवसायमा प्रभावकारी रूपमा कसरी प्रयोग गर्ने भन्ने ज्ञान प्रदान गर्नु पनि हो।
कार्यक्रममा फाउन्डेसनका कार्यकारी निर्देशक प्रकाश केजरीवालले सूचना प्रविधिको विकास तथा एआईको वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
लर्डबुद्धले भौतिक एआई सर्भर ल्याब स्थापना गर्ने तयारीसमेत गरेको जनाएको छ। विदेशबाट एआई सर्भर नेपाल भित्र्याउने प्रक्रिया पनि अघि बढाइएको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनका अनुसार एआई ल्याब केवल एउटा कोठामा राखिएको सर्भर वा उपकरण मात्र नभई एआई शिक्षालाई व्यवहारमा उतार्ने प्रमुख आधार बन्ने अपेक्षा गरिएको छ।
भौतिक ल्याब स्थापना गरेर विद्यार्थीलाई कम खर्चमा प्रत्यक्ष अभ्यास गर्ने अवसर उपलब्ध गराइने फाउन्डेसनले जनाएको छ। आफ्नै सर्भरमा एआईसम्बन्धी प्रयोग, परीक्षण र अध्ययन गर्न पाउने भएपछि विद्यार्थी किताब वा भिडियोमा मात्र सीमित नहुने, बरु प्रविधिलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन्। साथै, विद्यार्थीले ११ वटा अन्तर्राष्ट्रिय अनलाइन ल्याब, अनुसन्धानपत्र (रिसर्च पेपर), जर्नल तथा पुस्तकहरूको पहुँचसमेत प्राप्त गर्नेछन्।
कार्यक्रममा डीएलए कन्सल्टिङका संस्थापक अध्यक्ष सुमन न्यौपानेले कृत्रिम बुद्धिमत्ता सूचना प्रविधिको एउटा अंग मात्र नभई हरेक संस्थाको रणनीतिक निर्णय प्रक्रियाको अभिन्न हिस्सा बनिसकेको बताए।
उनले भने, “एआईसम्बन्धी अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम काठमाडौं ल्याएर हामीले केवल अर्को शैक्षिक डिग्री थपिरहेका छैनौँ, बरु नेपालको भावी व्यावसायिक नेतृत्व निर्माण गर्ने नयाँ आधारशिला तयार गर्दैछौँ।”
नेपालको सूचना प्रविधि क्षेत्र देशको अर्थतन्त्र विकासको सबैभन्दा महत्त्वपूर्ण आधारमध्ये एक बनिसकेको पनि न्यौपानेले बताए।




