एमाले केन्द्रीय कमिटी बैठकको पहिलो दिन सकियो, ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
काठमाडौ/ नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकको पहिलो दिनको बैठक सकिएको छ । ललितपुरको भनिमण्डलस्थित रामबागमा सोमबार दिउँसो सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि पहिलो दिनको बैठक सकिएको हो ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि बैठकमा अन्य विषयमा विस्तृत छलफल भएन । ओलीले केन्द्रीय सदस्यहरूलाई राजनीतिक प्रतिवेदन अध्ययन गरेर आउन आग्रह गरेका छन् ।
तीन दिनसम्म सञ्चालन हुने बैठकको दोस्रो दिन मंगलबारदेखि अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । सदस्यहरूलाई बैठकमा बोल्न तीन मिनेटको समय निर्धारण गरिएको छ । समय अभाव भए लिखित रूपमा सुझाव तथा धारणा राख्न सकिने व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा, पार्टीको संगठनात्मक अवस्था, पुनर्गठन तथा आगामी कार्यदिशाबारे छलफल हुने कार्यसूची छ ।
बैठकमा केन्द्रीय कमिटीमा सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन, विभिन्न विभाग, सल्लाहकार परिषद् र अनुशासन आयोग गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ ।
यसअघि एमालेभित्र पार्टी पुनर्गठनका विषयमा बहस चल्दै आएको थियो । पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनसमेत केन्द्रीय कमिटी बैठकमा छलफल हुने अपेक्षा गरिएको थियो । तर, अध्यक्ष ओलीले उक्त प्रतिवेदनलाई बैठकमा औपचारिक रूपमा नलैजाने निर्णय गरेको समाचारसमेत सार्वजनिक भएको छ ।
बैठकलाई मर्यादित र अनुशासित बनाउन एमालेले बैठकस्थलमा मोबाइल प्रयोग, भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्न रोक लगाएको छ । अध्यक्ष ओलीले पार्टीभित्रका असन्तुष्टि सामाजिक सञ्जालमार्फत सार्वजनिक नगर्नसमेत नेताहरूलाई निर्देशन दिएका छन् ।
मंगलबारको बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने भएकाले एमालेभित्रको पछिल्लो राजनीतिक अवस्था, निर्वाचन परिणाम र पार्टीको आगामी दिशाबारे थप बहस हुने छ ।




