३ असार २०८३, बुधबार

स्वदेशी सिमेन्ट प्रयोगमा जोड, कंक्रिट सडकलाई प्राथमिकता दिन सुझाव



धनगढी/ नेपालमै उत्पादन हुने सिमेन्ट तथा निर्माण सामग्रीको अधिकतम प्रयोग गरी पूर्वाधार विकासलाई दिगो, गुणस्तरीय र आत्मनिर्भर बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

सो अवसरमा स्वदेशी उत्पादनको प्रयोग बढाउँदा विदेशी मुद्रा बचत हुनुका साथै रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्र सुदृढ हुने धारणा व्यक्त गरिएको छ।

धनगढीमा नेपाल सिमेन्ट उत्पादक संघले आयोजना गरेको ‘सडकका लागि बलियो फुटपाथको डिजाइन तथा निर्माण’ विषयक कार्यक्रममा सडक तथा फुटपाथ निर्माणमा कंक्रिट प्रविधिको प्रभावकारी उपयोगबारे छलफल गरिएको थियो। कार्यक्रममा दीर्घकालीन गुणस्तर, मर्मतसम्भार खर्चमा कमी तथा स्वदेशी सिमेन्टको प्रयोग विस्तारका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा इञ्जिनियर अर्जुनजंग थापाले सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको बताए । सडक निर्माणमा गुणस्तरको कमीका कारण छोटो समयमै सडक भत्किने समस्या देखिएको उल्लेख गर्दै उहाँले दिगो पूर्वाधार निर्माणका लागि नेपाली सिमेन्ट र कंक्रिटको प्रयोग बढाउन आवश्यक रहेको बताए।

“एक वर्ष नपुग्दै सडक बिग्रिने अवस्था अन्त्य हुनुपर्छ,” उनले भने, “गुणस्तरीय निर्माणसँगै स्वदेशी उत्पादनको प्रयोगले राष्ट्रिय अर्थतन्त्रलाई पनि प्रत्यक्ष टेवा पुर्‍याउँछ।”

नेपाल सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष इञ्जिनियर ध्रुवराज थापाले नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको जानकारी दिए। मुलुकमा प्रशस्त चुनढुङ्गा तथा आवश्यक कच्चा पदार्थ उपलब्ध रहेकाले उपयुक्त सरकारी नीति र सहजीकरण भए सिमेन्ट उद्योगले अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन सक्ने उनको भनाइ थियो।

उनले नेपालसँग वार्षिक करिब १५० अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात गर्ने सम्भावना रहेको दाबी गर्दै स्वदेशी उद्योगलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसहसचिव इञ्जिनियर राजेन्द्र शर्मा काफ्लेले पनि आयातित निर्माण सामग्रीमा निर्भरता घटाउन स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए। यसले निर्माण लागत व्यवस्थापनका साथै देशभित्रको औद्योगिक गतिविधि विस्तार गर्न मद्दत पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी विज्ञ, इञ्जिनियर, प्राविधिक तथा अन्य सरोकारवालाहरूले सडक र फुटपाथ निर्माणमा कंक्रिट प्रविधिको प्रयोग बढाएर दीर्घकालीन रूपमा मर्मत खर्च घटाउन सकिने धारणा राखेका थिए। उनीहरूले पूर्वाधार विकासमा स्वदेशी उत्पादनको उपयोगलाई नीतिगत रूपमा प्रोत्साहन गर्न सरकारसँग आग्रह गरेका छन्।

कार्यक्रममा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार