१८ मंसिर २०८२, बिहीबार

पग्लिदो हिमाल, अस्थिर नदी प्रणाली, बढ्दो समुन्द्र सतह र गहिरिँदो संकट



कालीगण्डकी खोँच, जोमसोम / तस्वीर श्रेय : जाँ-मारी हुलो

जलवायु परिवर्तनको कारण सुख्खा र बाढीको चरम अवस्थाले विश्वभरका नदी प्रणाली (जलाधार क्षेत्र)हरूलाई प्रभावित गरिरहेको छ । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले सार्वजनिक गरेको एक ताजा प्रतिवेदन अनुसार, सन् २०२४ मा संसारका केवल एक-तिहाई नदी प्रणाली (जलाधार क्षेत्र) हरूमा मात्र सामान्य वर्षा भएको थियो भने बाँकी दुई-तिहाईमा चरम मौसमी समस्याहरू देखिएका थिए ।

प्रतिवेदनले यस्तो अस्थिर जलचक्रले समाज र सरकारलाई ठूलो चुनौती दिइरहेको र अरबौं डलरको क्षति पुर्याइरहेको बताएको छ । यसले खाद्यान्नको अभाव, बालीनालीको उत्पादनमा कमी र मूल्यवृद्धि लगायतका समस्या बढाएको छ, जसको कारण विभन्न क्षेत्रहरूमा तनाव र विस्थापनको स्थिति समेत देखिएको छ ।

डब्ल्यूएमओका एकजना निर्देशक स्टेफन उलेनब्रुकका अनुसार “केही क्षेत्रहरूको लागि त यो अस्तित्व कै संकट हो।”

चरम घटनाहरूको असर

गत वर्ष विश्वको सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड भएको थियो, जुन औद्योगिक काल (करिब दुइ सताब्दी यता) भन्दा १.५५ डिग्री सेल्सियस बढी थियो । जसको परिणाम अमेजन देखि उत्तरी अमेरिका, दक्षिणी र दक्षिण-पूर्वी अफ्रिका र मेक्सिकोमा देखिने गरेको सुख्खा देखि केन्द्रीय युरोप, रुस, पाकिस्तान र उत्तर भारतका केही क्षेत्रहरूमा देखिने भीषण बाढी समेतमा प्रतिबिम्बित भइरहेको छ । ब्राजिलको दक्षिणी भागमा भीषण बाढी आइरहेको बेलामै अमेजनमा सुख्खा पर्नु चरम जलवायु असरको एउटा उदाहरण हो ।

हिउँ र हिमनदीमा पनि असर

संसारभरिका हिमनदीहरूले लगातार तेस्रो वर्ष आफ्नो हिउँको मात्रा गुमाएका छन् । स्भालबार्ड, स्कान्डिनेभिया र उत्तर एसियामा उल्लेख्य मात्रामा हिउँ पग्लिएको छ, जसले समुद्र सतहमा लगभग १.२ मिलिमिटरको वृद्धि गरेको मानिन्छ ।

उलेनब्रुकका अनुसार “केही ठाउँहरूमा हिउँ पग्लने खास समय अगाडि नै हिउँको आवरण हराउँदैछ । यसले पर्यावारणमा ठूलो असर पार्छ किनभने वन्यजन्तु र वनस्पतिहरूले चाहिने समयमा पानी पाउँदैनन् ।”

भविष्यका लागि सुझाव

प्रतिवेदनले यस बिषयमा सरकारहरूको गम्भीर ध्यानाकर्षण गराउदै ग्रीनहाउस ग्यासको उत्सर्जन घटाउने, जलसंग्रहण क्षमता बढाउने, उपलब्ध पानीको अधिकतम उपयोग गर्न कृषि प्रविधिमा परिवर्तन ल्याउने र पूर्व सुचना प्रणाली विकास र स्थापना गर्ने लगायतका उपायहरू अपनाउन सुझाव दिएको छ ।

यो समाचार अन्तर्राष्ट्रिय समाचारपत्र ‘द गार्जियन’ का वातावरण सम्पादक फियोना हार्वेको रिपोर्ट https://www.theguardian.com/environment/2025/sep/18/climate-crisis-driving-extreme-floods-droughts मा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार