५ कार्तिक २०८१, सोमबार

एमालेले सोध्यो रावललाई स्पस्टीकरण



नेकपा एमालेले पार्टीको कार्यालय निर्माणको सन्दर्भमा पार्टी निर्णय विरुद्ध बोल्ने नेताहरूसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कमिटी बैठकले लामो समयदेखि पार्टी हित विपरीत विचार प्रकट गर्दै आएको भन्दै पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पनि के कारणले पार्टी निर्णय विपरीत पार्टी कार्यालय निर्माणको सम्बन्धमा अभिव्यक्ति दिनुभएको हो भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए । ‘पार्टी नीति विपरीत अभिव्यक्ति दिनुभएकोमा के कति कारणले उहाँहरूले त्यस प्रकारका गतिविधिहरू गरिराख्नु भएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने कुरा भएको छ’, पोखरेलले भने ।

एमालेलाई भएको क्षतिमा सहयोग स्वरूप जग्गा दान गर्ने पवित्र उद्देश्यका साथ मीनबहादुर गुरुङले जग्गा दान गर्नुभएको पोखरेलले बताए । यसमा कुनै पनि स्वार्थ नबाझिएको उनले स्पष्ट पारे ।

पत्रकारले सोधेको अर्को जिज्ञासाको जवाफमा पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संसदीय समितिले गरेको सिफारिसको आधारमा प्रहरीले अनुसन्धानको लागि गिरफ्तार गरेको बताए । यो विषय सरकारको मात्र विषय नभए संसद्को साझा सरोकारको विषय भएको उहाँले स्पष्ट पारे । ‘यसमा सरकार भर्सेस हुन कुनै आवश्यक छैन’, उनले भने ।

एमालेको दृष्टिकोण कुनै अमुक व्यक्तिलाई कारबाही हुनुपर्छ भन्ने धारणा नभएको उनले बताए । अनुसन्धानले जे देखाउँछ सोही अनुसार अघि बढ्नु पर्ने एमालेको स्पष्ट धारणा रहेको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार