२७ पुष २०८१, शनिबार

गड्डाचौकीमा हेल्थडेस्क



कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कलाई व्यवस्थित गरिएको छ । भीमदत्त नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) र स्वास्थ्य सेवा विभाग इपिमिडिलोजी तथा रोग नियन्त्रण महाशाखाको साझेदारीमा डेस्कलाई व्यवस्थित बनाएको हो ।

कोराना महामारी फैलिएपछि गत वर्ष फागुनदेखि गड्डाचौकीस्थित राजमार्ग छेउमा सञ्चालनमा ल्याइएको हेल्थ डेस्कलाई स्थायी रुपमा सञ्चालनमा ल्याउने गरी दुई शै्यया र उपकरण थप गरिएका छन्् । स्वास्थ्य जा“चका लागि स्वास्थ्यकर्मीको संख्या बढाइएको छ ।

कोरोना महामारीलाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको हेल्थ डेस्कलाई आगामी दिनमा पनि महामारीजन्य रोग भित्रिन नदिन स्वास्थ्य जाँच केन्द्र बनाउने गरी व्यवस्थित गरिएको बताइएको छ । इपिमिडिलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीले कोरोना महामारीका लागि सञ्चालनमा ल्याइएका हेल्थ डेस्कलाई आगामी दिनमा अन्य महामारी भित्रिन नदिने गरी सृदृढीकरण गर्न लागिएको बताए ।

सुदूरपश्चिम प्रदेशमा गड्डाचौकी र गौरीफन्टा नाकामा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा हेल्थ डेस्कलाई सृदृढीकरण गरिएको उनले जानकारी दिए । देशभरका १३ स्थानका हेल्थ डेस्कलाई व्यवस्थित गर्ने योजना रहेको बताइएको छ । हेल्थ डेस्कमा अस्थायी दरबन्दी सिर्जना गरी मेडिकल अफिसरलगायत जनशक्ति पूर्ति गर्न पनि बजेट विनियोजन गरिएको जनस्वास्थय अधिकृत नेपालीले बताए ।

कोरोना महामारी फैलिएपछि गत वर्ष नगरपालिकाले जनशक्ति थप गरी हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । एक वर्षमा एक लाख ५० हजार व्यक्तिको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएको छ । नगरपालिकाले कोरोना भाइरस संक्रमण भित्रिन नदिन गड्डाचौकीसहित झोलुंगे पुल र ब्रह्मदेवमा पनि अस्थायी रुपमा डेस्क सञ्चालनमा ल्याएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार