६ कार्तिक २०८१, मंगलवार

नयाँ दृष्टिकोणले मात्रै राष्ट्रको समृद्धि : डाक्टर भट्टराई



कैलारी । नयाँशक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नयाँ एजेण्डा, दृष्टिकोण भएको पार्टीले मात्र राष्ट्रलाई समृद्धितर्फ लग्न सक्ने बताएका छन् ।
‘नेपाली काँग्रेस राणा शासन हटाउन, नेकपा (एमाले) पञ्चायत शासन र माओवादी राजा हटाउनसम्म ठिक पार्टी थिए’ मंगलबार कैलाली जिल्लाका विभिन्न स्थानमा भएका कार्यक्रममा डाक्टर भट्टराईले भने– ‘अब कोही पनि पार्टीले इतिहास सम्झेर मात्रै राष्ट्रलाई समृद्धितर्फ डोर्‍याउन सक्दैनन् ।’
उनले मुलुकलाई समृद्धितिर डोर्‍याउन नयाँ सोच, एजेण्डा, दृष्टिकोण र योजना भएको सहितको राजनीतिक दल आवश्यक रहेको चर्चा गरे ।
डाक्टर भट्टराईले मुलुकको तीब्र आर्थिक समृद्धि नै आफ्नो पार्टीको सपना रहेको र २५ वर्षभित्रै नेपाललाई अमेरिका, जापानजस्तै विकसित राष्ट्र बनाउने दावी गरे ।
पुर्व प्रधानमन्त्री समेत रहेका संयोजक डाक्टर भट्टराईले सहमतीबाटै संविधान संशोधन गरेर अघि बढ्नुपर्ने बताए । ‘एउटाले ल्याएको संशोधनमा अर्कोले विरोध गर्दै जाने हो भने निकास कहिले आउन सक्दैन’ उनले भने– यस्तो चालाले राष्ट्रलाई समृद्धितर्फ लग्न नसक्ने बताए ।
कैलालीको कैलारी गाउँपालिका, गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकामा भएका कार्यक्रममा सहभागी भएका डाक्टर भट्टराईले प्रदेश नम्बर ७ को एक गाउँपालिका वा नगरपालिकालाई नमुनाका रूपमा विकास गरिने बताए ।
कैलारी गाउँपालिकामा भएको चुनावी सभामा पार्टीका सहसंयोजक दुर्गा साव, चलचित्र कलाकार करिश्मा मानन्धर, गंगा चौधरी, भीम तिरुवा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम कैलारी गाउँपालिका अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षतामा भएको थियो ।

 

वस्ती भेटघाटमा बालबालिका
निर्वाचन आयोगको आचारसंहिताले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिएको छ ।
मंगलबार नयाँशक्ति पार्टी नेपालले कैलारी गाउँपालिकामा आयोजना गरेको बस्ती भेटघाट तथा चुनावी सभामा बालबालिकाको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा युवा–युवती, बृद्ध–बृद्धाभन्दा बढी बालबालिकाको संख्या रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार