डाक्टर केसी सुदूरपश्चिमको भ्रमणमा
डडेल्धुरा । बरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसी यतिबेला सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणमा छन् । बुधबार साँझ डडेल्धुरा पुगेका प्रा. डा. केसीले बिहीबार डडेल्धुरा अस्पतालको अवलोकन गरेका छन् ।
उनले बुधवार डोटी जिल्ला अस्पतालको अवलोकन गरेका थिए । एक्लै सुदूरपश्चिमका पहाडी जिल्लाको अवलोकनमा निस्किएका डाक्टर केसीले केही दिन डडेल्धुरामा बिताउने बताए ।
उनले आफू पर्यटकका रुपमा सुदूरपश्चिम प्रदेशको भ्रमणमा आएको संक्षिप्त प्रतिक्रिया दिए । ‘म पर्यटकका रुपमा यहाँ आएको हुँ’ उनले भने– डडेल्धुरा राम्रो लाग्यो । अबका केही दिन यतै बिताउँछु होला ।
उनी एक काँधमा झोला भिरेर हिँड्दै एक्लै अस्पताल पुगेका थिए । अस्पतालमा उनले अस्पतालको बस्तुस्थिति, बिरामीहरूको अवस्थाबारे अध्ययन गर्नुको साथै जनस्वास्थ्यबारे कुराकानी गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए ।
‘उहाँले अस्पतालको बस्तुस्थिति, भौतिक पूर्वाधारको अवस्थाबारे नियाल्नुभयो,’ उनले भने– अस्पतालमा जनशक्ति के कति छ ? त्यसको बारेमा पनि केही सामान्य जानकारी लिनुभयो ।
लामो समयदेखि चिकित्सा क्षेत्रको सुधारको माग गर्दै संघर्ष गर्दै आएका डाक्टर केसीले संघर्षका क्रममा दुर्गममा पनि मेडिकल कलेज खुल्नुपर्ने माग राख्दै आएका छन् । उनले सुदूरपश्चिमको डोटी वा डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने अडान राख्दै आएका छन् ।
१५ औँ अनशन तोड्दा सरकारसँग १० साउन २०७५ मा ‘डोटी–डडेल्धुरामा मेडिकल कलेजको सम्भाव्यता अध्ययन’ गर्ने भनिएको थियो । त्यसका लागि ‘एक महिनाभित्र टोली गठन गर्ने’ भनिएको थियो । यो बुँदा एक वर्ष बित्दा पनि कार्यान्वयन भएको छैन् ।
तस्विरः कान्तिपुरबाट