३० भदौ २०८३, मंगलबार

बाढी प्रभावितका लागि जेभियर इन्टरनेसनलको १० लाख सहयोग



काठमाडौं/ बाढीबाट प्रभावित समुदायको राहत तथा सहयोगका लागि जेभियर इन्टरनेसनल कलेजले शिक्षा मन्त्रालयमार्फत १० लाख रुपियाँ सहयोग गरेको छ।

जेभियर इन्टरनेसनलका अध्यक्ष लोकबहादुर भण्डारी र कार्यकारी निर्देशक गोपाल भण्डारीले शिक्षामन्त्री सस्मित पोखरेललाई १० लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन्।

बाढीका कारण प्रभावित परिवारको सहयोगका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको कलेजले जनाएको छ। विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग गर्नु आफ्नो जिम्मेवारी भएको संस्थाको भनाइ छ।

जेभियर इन्टरनेसनलले शिक्षा भनेको पाठ्यपुस्तक र कक्षाकोठामा सीमित विषय नभएको जनाएको छ। जिम्मेवार, संवेदनशील र सामाजिक उत्तरदायित्व बोध भएका नागरिक निर्माण गर्नु शिक्षाको महत्वपूर्ण उद्देश्य भएकाले विपद्का बेला सहयोग र सहकार्यको संस्कार विकास गर्नुपर्ने संस्थाले बताएको छ।

संस्थाले ‘जेभियर समुदाय’ले सहानुभूतिलाई व्यवहारमा उतार्दै बाढी प्रभावितका लागि सहयोग जुटाएकोमा खुसी व्यक्त गरेको छ। आवश्यक परेको समयमा समुदायसँगै उभिने आफ्नो प्रतिबद्धतालाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार